पथरी/पथरीशनिश्चरेमा स्थगित मतगणना ३ बजेबाट हुने  १९ असार स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा मोरङको पथरीशनिश्चरे नगरपालिकामा विवाद उत्पन्न भई स्थगित भएको आजको मतगणना कार्य दिउँसो ३ बजेबाट सुचारु हुने भएको छ । हिजो राती सम्पन्न वडा नम्बर ९ को मतगणनाका सम्बन्धमा विरोध जनाउँदै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका दलले आज विहानैदेखि पथरी बहुमुखी क्याम्पसमा रहेको मतगणनास्थल बाहिर नाराजुलुस समेत गरेका छन् । उनीहरुले सो वडाको पुन मतगणनाको माग राखेका छन् । सोही विषयमा अहिले सर्वदलीय बैठक बसेर दिउँसो ३ बजेबाट बाँकी वडाको मतगणना कार्य जारी राख्ने निर्णण भएको छ । ९ नम्बर वडाको गणना सम्पन्न भई मत परिणाम बाहिर आउने बेलामा कांग्रेस र माओवादी केन्द्रको अगुवाईमा मतगणना प्रक्रियाका चित्तबुझ्दो नभएको भन्दै असन्तुष्ठि जनाएका थिए । निकैबेरको छलफलपछि निर्वाचन अधिकृत चेतकुमार पोखरेलले मत परिणाम घोषणा गरेका थिए  । सो वडामा प्यानल सहित एमालेका भानुभक्त राई कांग्रेसका बीरबहादुर लिम्बू भन्दा ८ मत बढीले वडाध्यक्षमा विजयी बनेपछि एमाले बाहेकका दलहरुले मोर्चाबन्दी रुपमा मतगणना कार्यको विरोध जनाउँदै विज्ञप्ति समेत जारी गरेका छन् । निर्वाचन प्रमुख पोखरेलले भनें सवै प्रतिनिधि राखेर भएको गणनामा त्रुटि भयो भनेर नतिजा सार्वजनिक गर्न लाग्दा विरोध गर्नु सान्दर्भिक नभएको बताए । हार स्वीकार गर्न नसकेर कांग्रेस र माओवादीले बेकारमा विवाद गरेको एमालेको प्रतिक्रिया छ । सो नगरमा एमालेले अग्रता लिएको छ । एमालेका नगर प्रमुखका उम्मेदवार दिलिपकुमार राई (किशोर)ले ६ हजार ५ सय ५५, माओवादी केन्द्रका जहरमान लिम्बूले ४ हजार ७ सय ६८ र कांग्रेसका गणेशकुमार खड्काले ४ हजार २३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी प्रेमला राईले ३ हजार ९ सय १२, एमालेकी यमुना विष्टले ६ हजार ८ सय १८, माओवादी केन्द्रकी टंकमाया गौतम (राधिका) ले ३ हजार ७ सय ५९ मत प्राप्त गर्नुभएको छ । त्यहाँ, वडा नम्बर १, २, ३ र ९ मा एमालेको प्यानल, ४ मा माओवादीको प्यानल, १० मा कांग्रेसले वडाध्यक्ष तथा एमालेका ३ सदस्य र माओवादी केन्द्रका १ सदस्य विजयी भएका छन् ।