महेन्द्रनगर/ प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आज (शनिबार) बिहान कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा एमालेसहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिए । ‘मधेसी दलले केही माग राखेका छन्,’ प्रधानमन्त्री देउवाले भने, ‘दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन ।’ संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उनले बताए । उनले पञ्चेश्वर परियोजना बनाएर छाड्ने दावी गर्दै भने, ‘अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु ।’ महाकाली नदीमा चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी उनको भनाइ थियो । नेपाली काँग्रेसले आयोजना गरिरहेका चुनावी सभालाई सम्बोधन गर्न ७ नम्बर प्रदेशमा रहेका कांग्रेस सभापति समेत रहेका देउवाले आज कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने तथा कञ्चनपुरपछि उनी आज नै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम तय भएको छ ।