इटहरी/इटहरी उपमहानगरपालिका वार्ड नम्वर ९ का राप्रपाका वार्ड अध्यक्षका उमेद्वार माथि अज्ञात समुहले आक्रमणको प्रयास गरेको छ । मंगलबार राती सवा नौ बजेतिर इटहरी–७ गैसार जाने बाटोमा मोटरसाइकलमा जाँदै गरेका अध्यक्षका उमेद्वार श्याम पोख्रेल र सोही वार्डका सदस्य पदका उमेद्वार खड्गकुमार श्रेष्ठमाथि आक्रमण प्रयास भएको राप्रपाले जनाएको छ । उनीहरु को २० प ५९३५ नम्वरको मोटरसाइकलमा इटहरी बजारबाट घर जाँदै थिए । राप्रपाका इटहरी नगर अध्यक्ष रामु पोख्रेलका अनुसार पल्सर मोटरसाइकलमा आएका तीन जनाको समुहले आक्रमण गरेको थियो । आक्रमणबाट मोटरसाइकलमा क्षति पुगेको छ । प्रहरीले घटना स्थलबाट एक थान मासु काट्ने दाउ समेत बरामद गरेको छ । घटना कस्ले र किन गराएको भन्ने खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले घटना स्थलबाट दाउ भेटिएको पुष्टि गर्दै संलग्नहरुको खोजी भइरहेको बताए । घटनामा संल्लग्न भएको आशंकामा प्रहरीले एउटा मोटरसाइकल नियन्त्रणमा लिएको बताइएको छ ।