धरान/धरान–८ स्थित यलम्बर सामुदायिक वन भित्रको चोमोलोङ्मा पोखरीमा फिसिङ गर्ने स्थलको रुपमा विकास गरिएको छ । २०५८ सालमा निर्माण भएको पोखरीको पुन निर्माण गर्दै वन समितिले फिसिङको लागि व्यवस्थित गर्न लागेको हो । धरानमा फिसिङको लागि पहिलो सामुदायिक वनको रुपमा चिनिने भएको छ । वनका संस्थापक सचिव एवम् निर्माण समितिका सदस्य सचिव रमेश राईले धरानमा अन्यत्र फिसिङको व्यवस्था नभएकाले यसलाई फिसिङ पोखरीको रुपमा विकास गर्ने बताए । उनले युवादेखि वृद्धवृद्धाले यो सुविधा लिन सक्ने बताए । जहाँ विभिन्न प्रजातिका माछाहरु हुने छन् । वनमा आएर जुनसुकै समयमा पनि फिसिङ गर्न सक्ने गरीको व्यवस्था मिलाउन लागिएको हो । २०५३ सालमा स्थापना भएको वन सरकारले २०५५ सालमा हस्तान्तरण गरेको थियो । जसमा २८ हेक्टर क्षेत्रफल रहेको छ । फिसिङ गरिसकेपछि वन क्षेत्रमा पकाएर, पोलेर खाने व्यवस्थासमेत मिलाउन लागिएको छ । घरमै लान चाहानेहरुको लागि पनि खुल्ला गरिएको छ । फिसिङको लागि केही महिनापछि सुचारु गरिन लागिएको उनले बताए । चार लाख रुपैयामा पुनःमर्मत गरिएको वन समितिले जनाएको छ । फिसिङ पोखरीकै एक छेउमा ‘इच्छा पोखरी’ रहेको छ । जहाँ ‘क्वाइन’ (डलर पैसा) हान्न सक्ने व्यवस्था मिलाएको समितिले जनाएको छ । क्वाइन फालेमा आफूले इच्छाएको कुरा पुग्ने सदस्य सचिव राईले बताए । वन परिषर मै ‘भ्यालेन्टाइन आइल्याण्ड’ निर्माण गरिएको छ । जहाँ प्रेमिलजोडीहरु आएर बस्न सक्ने गरीको व्यवस्था मिलाइएको छ । उक्त आइल्याण्डबाटै फिसिङसमेत गर्न सकिने समितिले बताएको छ ।