धरान/इटहरीको मेयरमा निस्क्रिय सदस्य रोहित प्रसाईलाई टिकट दिएको भन्दै हेमकर्ण पाैडेल समर्थक कार्यकर्ताहरुले भाडभैलो मच्चाएका छन् । मेयरका आकांक्षी पौडेललाई ‘बायस’ गरेर प्रसाईलाई दिएको भन्दै पार्टी कार्यकर्ताहरुले चरम असुन्तुष्टी व्यक्त गर्दै पार्टीबाट राजिनामा दिनेसम्मकाे धम्की दिएका छन् । प्रसाईले टिकट पाएको आक्रोसमा पौडेल समर्थक कार्यकर्ताहरु उनको घर इटहरी–१ स्थित आँपगाछीमा पुगेर पार्टी विरुद्ध उत्रिने बताएका थिए । सयाैंको सख्यामा कार्यकर्ताहरु पौडेलको घर पुगेका थिए । जसका कारण उक्त भीड हटाउनको लागि इटहरी इलाका प्रहरी कार्यालयले सुरक्षाकर्मी नै परिचालित गर्नु परेको थियो । मेयरमा जित्ने उम्मेद्वारलाई पार्टीले टिकट नदिई नजित्ने उम्मेद्वारलाई टिकट दिएकोमा पार्टी कार्यकर्ताहरुले असन्तुष्ट व्यक्त गर्दै राजिनामा दिनेसम्मको तयारी थालेका छन् । यही अवस्था रहे पौडेललाई बागी उम्मेद्वार उठाएर जानेसम्मको कार्यकर्ताहरुले पार्टी केन्द्रलाई चेतावनी दिएको छ । पार्टी कार्यकर्ताहरुले पौडेलाई पूर्ण समर्थन गर्दै नाराबाजीसमेत गरेका थिए । ट्रेड युनियन कांग्रेसका पूर्वाञ्चल उपाध्यक्ष ज्योती कोइरालाले पार्टीले तत्काल नसच्याएर पार्टी विरुद्ध आन्दोलन गर्ने बताए । त्यस्तै नेविसंघका २ नम्बर क्षेत्रीय सभापति टङ्क दाहालले पनि पार्टीले निस्क्रिय मान्छेलाई उठाएर पार्टीले आफ्नै पार्टीलाई हराउन लागेको आरोप लगाए । त्यस्तै नेपाली कांग्रेसकी क्रियाशील सदस्य निरु चौधरीले पनि कांग्रेसले गतल निर्णय गरेकाले त्यसविरुद्ध आन्दोलन गर्न पनि पछि नर्पने बताइन् । नेपाल विद्यार्थी संघका सुनसरी सचिव नविन कटुवालले पनि कांग्रेसले कमजोर उम्मेद्वारलाई उठाएको आरोप लगाए । यता पौडेलले भने आफूले दुईदशकदेखि पार्टी राजनीतिमा लागेर पनि पैसा र पावरको भरमा टिकट दिएकोप्रति गुनासो पोखे । उनले आफूले पार्टीप्रति गरेको योगदानको कदर नभएको बताए । उनले आफू कसै विरुद्ध जाने भन्दा पनि पार्टीले सही निर्णय गरोस् भन्ने रहेको बताए । इटहरीका अन्य कार्यकर्ताहरुले सामाजिक सञ्जालमा पनि पार्टीको तिब्र विरोध गरेका छन् । केन्द्रीय नेता तथा जिल्ला नेताहरुले भने केही जिल्लाहरुमा टिकटलाई लिएर विवाद सिर्जना भएकाले कसैको पक्षमा पार्टीले निर्णय नगरेको बताएका छन् । इटहरीमा प्रसाईलाई मेयरको टिकट नेपाली काँग्रेसले इटहरीको मेयरमा उद्योग वाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य रोहित प्रसाईलाई उठाउने भएको छ । इटहरीमा मेयरको लागि नगर सभापति हेमकर्ण पौडेल र प्रसाईंले दावेदारी गदै आएका थिए । प्रसाईं पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । २०४६ सालदेखि नेविसंघबाट राजनीति थालेका प्रसाई २०५० सालमा नेपाल विद्यार्थी संघको सभापति भएका थिए । यता नगर सभापति पौडेललाई टिकट नदिएको भन्दै काँग्रेसका कार्यकर्ताहरु भने आक्रोसित भएका छन् । इटहरीमा पछिल्लो समय हेमकर्ण पौडेलको पक्षमा राम्रो चुनावी माहोल बनेको भए पनि पार्टीले राम्रालाई भन्दा हाम्रालाई टिकट दिएको भन्दै आक्रोसित भएका हुन् । युवाहरुले पार्टी केन्द्रीय नेताहरुलाई हेमकर्ण पौडेललाई मेयरको उमेद्वार बनाऔं भन्दै एसएमएस अभियान पनि शूरु गरेका छन् । कुनै पनि हालतमा निर्णय फिर्ता लिई हेमकर्ण पौडेललाई मेयरको टिकट दिनु पर्ने काँग्रेस कार्यकर्ताहरुको माग छ । मेयरको टिकट पाएका प्रसाई उद्योग वणिज्य संघ इटहरीको अध्यक्ष हुँदा इटहरीलाई प्लाष्ट्रिक मुक्त क्षेत्र घोषणा गर्न, इटहरीको पर्यटकीय स्थल तालतलैयामा विदेशी मूर्तिकारलाई झिकाएर मूर्ति कला कार्यशाला सञ्चालनलगायतका कार्यक्रममा अगुवाई गरेका थिए । तर राजनीतिक माहोल यति वेला हेमकर्णको पक्षमा रहेको भन्दै काँग्रेस नेताहरु पनि केन्द्रीय नेतृत्व प्रति सन्तुष्ट छैनन् ।