शनिश्चरे /स्थानीय तहको निर्वाचन नजिकिदै गरेको अवस्थामा निर्वाचन आचारसंहिता उलंघनका घटनाहरु पनि भइरहेका छन् । झापा र मोरङमा निर्वाचन आचारसंहिता उलंघन गर्नेमा माओवादी केन्द्र अगाडि देखिएको छ ।

माओवादी केन्द्रले झापाको दमकस्थित गोलो चोकलाई कब्जा नै गरेको छ । सार्वजनिकस्थलमा पोष्टर, पम्प्लेट, पार्टीको झण्डा सहितका चुनावका प्रचार सामग्री टाँस्न वा राख्न नपाउने आचारसंहित विपरित चुनाव चिन्हका रुपमा रहेको गोलाकार भित्रको हँसिया हथौडाको झण्डा गाडेर आफ्नो कब्जामा पारेको देखिएको छ । नगरपालिका कार्यालयले हरित नगरको प्रतिकका रुपमा खडा गरेको डाँफे र मुनालको प्रतिमाले सजाइएको चोकको गोलोमा बाँसका भाटामा उनेर सयौं झण्डा गाडेर राजनीतिकस्थलमा रुपान्तरण गरिएको छ । त्यहाँ बाक्लै झण्डा गाडिएकाले सो बाटो हुँदै हिड्नेहरुले अचम्म मानेर हेर्ने रमिताको दृष्य समेत बनेको छ ।

त्यसको ठिक पश्चिमको आकाशे पुलमा ठूलो आकारमा नगर प्रमुख रेवतराज पुरी (गगन) र उपप्रमुख शान्ति धिमालको फोटो राखिएको फ्लेक्स व्यानर टाँगिएको छ । विभिन्न सार्वजनिकस्थलमा नगर प्रमुख र उपप्रमुखको फोटो सहितको फ्लेक्स राखिएको छ । दमक र उर्लाबारीको सीमास्थलका रुपमा रहेको मावा खोलाको पूर्वी किरानरमा नगर प्रमुखका उम्मेदवार पुरीको फोटो राखिएको फ्लेक्स बोर्ड नै बनाएर नगरवासीलाई स्वागत गरिएको छ । नगर प्रमुख र उपप्रमुखका उम्मेदवारका लागि निर्वाचन कार्यालयमा दर्ता गराएर एक एक वटामात्र हलुका सवारी साधनको प्रयोग गर्ने कुरा आचारसंहितामा उल्लेख भएपनि माओवादीले ५ वटा बढी गाडी प्रयोग गरेको पाइएको छ । ‘यसबारे आजसम्म निर्वाचन कार्यालयले केही भनेको छैन । कसैले अलि बढी र कसैले अलि घटीमात्रामा आचारसंहिता उलंघन गरेको होला । हाम्रो उलंघन भयो भनें अरुको पनि भएको छ ।’– उम्मेदवार पुरीले भने । पुरीले आफु नगर प्रमुख भएको खण्डमा राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

दमक चोक र आसपासका स्थलमा नेपाली कांग्रेस र एमालेले पनि ठाउँ ठाउँमा झण्डाहरु राखेर निर्वाचन आचारसंहिता उलंघन गरेका छन् । कांग्रेसका नगर प्रमुखका उम्मेदवार ढुण्डीराज भण्डारी र उपप्रमुखका उम्मेदवार रेगिना भट्टराई प्रसाईको फोटो राखिएको फ्लेक्स वोर्ड नै बनाएर ठाउँ ठाउँमा राखिएको छ ।मोरङको उर्लाबारीको गोलो चोकमा पनि उसैगरी माओवादी केन्द्रले कब्जा जमाएको छ । त्यहाँ रहेको शान्तिको प्रतिक परेवा राखिएको चोकमा गोलाकार भित्रको हँसिया हथौडाको झण्डा राखिएको छ । जिल्लाको पथरीशनिश्चरेस्थित रत्नकुमार वान्तवाको सालिक रहेको रत्नचोकको गोलोमा एमालेले सूर्यचिन्हवाहक झण्डा राखेको छ । अग्लो झण्डा भनें माओवादीले समेत राखेको छ । जाँतेमा मदन भण्डारीको प्रतिमा रहेको मदन चोकको रेलिङमा सूर्यको झण्डा राखिएको छ भनें ठूला झण्डा भनें माओवादी र कांग्रेसले समेत राखेको छ ।

निर्वाचन आचार संहिता ०७२ को परिच्छेद २ को ‘झ’ मा कुनै पनि सार्वजनिकस्थल, स्मारक, पर्खाल, पोलमा पोस्टर, पर्चा टाँस्न सहित प्रचार सामग्री टाँस्न नपाइने कुरा उल्लेख गरिएको छ । झापाका सार्वजनिकस्थलहरुमा भएका यसखाले आचारसंहिता उल्लघनका घटनाबारे सम्बन्धित दलहरुलाई मौखिक र लिखित रुपमा पत्राचार गरी निर्वाचन सामग्री झिक्न अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताए । आचार संहिता पालना भए नभएको अनुगमन गर्न नगर वा गाउँपालिकाका निर्वाचन अधिकृतलाई पत्राचार समेत गरिएको उल्लेख छ । तर त्यसखाले सामग्री हटाउने काम भनें कँही पनि भएको देखिदैन । सो विषयमा समेत छलफल गर्दै नमूना मतदानका लागि जिल्ला निर्वाचन कार्यालयले बुधबार दमकमा कार्यक्रम राखेको छ ।