धरान/व्यवस्थापिका–संसद्ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज चालिसौं प्रधानमन्त्रीको रुपमा चयन गर्ने भएको छ ।संसद्को आज दिउँसो १ बजे बस्ने पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने र दोस्रो बैठकले देउवालाई प्रधानमन्त्रीमा चयन गर्न लागेको हो ।

यसअघि नेकपा एमालेको अवरोधका कारण संसद्को बैठक चल्न सकेको थिएन । सोमबार सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताको बैठकपछि संसद् सुचारु गर्ने सहमति भएको हो । सहमतिअनुसार पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् भने त्यसपछि बस्ने अर्को बैठकले देउवालाई प्रधानमन्त्रीको रुपमा चयन गर्नेछ ।

संसद्मा प्रधानमन्त्रीका लागि उनको मात्रै उमेदवारी परेको छ ।यसैबीच उनीसँगै नेपाली कांग्रेस र माओवादी केन्द्रका केही नेताहरुले पनि मन्त्रीको रुपमा सपथ ग्रहण गर्नेछन् ।

कांग्रेसबाट महेश आचार्य, डा. शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर,  मीन विश्वकर्मा, महालक्ष्मी डिना उपाध्याय लगायतका नेताहरुमध्येबाटै मन्त्री हुने चर्चा छ । त्यसैगरी माओवादीबाट प्रभु साह, गिरिराजमणी पोखरेल, हितराज पाण्डे, रेखा शर्मा, रामनारायण विडारी, सीता नेपाली लगायतको चर्चा छ भने कांग्रेस र माओवादी केन्द्रका पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेर काम गरेका केही व्यक्तिहरुलाई पनि मन्त्री दोहोर्याउन सक्ने चर्चा छ ।

तर धेरै दल सरकारमा सहभागी हुने हुँदा दोहोर्यार मन्त्री बन्ने सम्भाबना कांग्रेसमा भने न्युन रहेको बताइएको छ ।कांग्रेस उच्च स्रोतकाअनुसार देउवाले नेता कृष्ण सिटौलालाई पनि आफु नेतृत्वको सरकारमा सहभागी गराउन चाहन्छन् ।

नेपाल लोकतान्त्रिक फोरमबाट विजय कुमार गच्छदारले नै नेतृत्व गर्ने भएका छन् ।त्यसबाहेक राप्रपा, राजपा, साना दलबाट को कति सरकारमा सहभागी हुने भन्ने केही निर्णय नभएको कांग्रेसका एक प्रभावशाली नेताले जनाए ।