भद्रपुर/मादक पदार्थ सेवन गरेर सडकको विचमा सुतेका व्यत्तिलाई उद्धार गर्नेक्रममा कारकोे ठक्करका कारण एक प्रहरी जवानको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडमा दरबन्दी भई इलाका प्रहरी कार्यालय काकरभिट्टामा कार्यरत मोरङ् डाँगीहाट ६ का २८ वर्षिय प्रहरी जवान अशोक खवासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गस्तीमा गएको प्रहरीले झापाको मेचीनगरपालिका ६ कालीखोला स्थित पुर्व–पश्चिम सडक खण्डमा मादक पदार्थ खाएर सडक विचमा रहेका व्यत्तिलाई गत शुक्रवार राती सवा दश वजे हटाउने क्रममा पुर्ववाट पश्चिम तर्फ गइरहेको को १ च ८४५६ नम्बरको कारले खवासलाई ठक्कर दिइ घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जनाए ।

घट्नापश्चात वेहोस रहेका जवानको उपचारको क्रममा सोमवार दिउँसो ज्यान गएको डिएसपी शर्माले बताए । ठक्कर दिने कारसहित चालकलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको शर्माले जानकारी दिए ।

आफु मरेर अरुको ज्यान वचाउने प्रहरी विरलैमात्र भेटिने उनको भनाई छ । ०४६ माघ ५ मा जन्मिएका खवासले ०६९ चैत्र २५ गतेवाट प्रहरी सेवामा प्रवेश गरेका थिए भने ६ महिना अघिमात्र विवाह बन्धनमा वाधिएको प्रहरीले जनाएको छ ।