काठमाडौं/आज विश्व वातावरण दिवस । हरेक वर्ष जुन ५ का दिन मनाइने यो दिवस नेपालमा पनि चेतानामुलक विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
बिहानै चेतनामुलक र्याली निकालिएको छ भने राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा विशेष कार्यक्रम पनि गरिँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउने गरिएको यस दिवसको यस वर्षको सन्देश ‘प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त’ भन्ने रहेको छ ।
प्रकृतिको सन्तुलनले मात्र मानव अस्तित्वको संरक्षण हुन सक्ने भन्दै यस वर्ष यो नारा तय गरिएको हो । प्रकृति, प्राकृतिक वातावरण, वन र जैविक विविधतालाई जोगाउन सकेमात्र वातावरणीय दुष्परिणाम, जलवायु परिवर्तनका नकारात्मक प्रभाव तथा विपद न्यूनीकरण गर्न सकिने विज्ञहरुको भनाइ छ ।
राष्ट्रसंघले यो वर्षको दिवसलाई दीगो विकास लक्ष्य २०३० सँग जोडेर मनाएको छ । जनचेतना र मानवीय वातावरणको सुधार वातावरणीय संरक्षणको मूख्य एजेण्डा रहेको भन्दै मानवीय क्रियाकलापलाई वातावरणमैत्री बनाउनु पर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।
यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले सन्देश दिँदै प्रकृति र प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन सबै नेपालीलाई आग्रह गरेका छन् । ‘यस दिवसले सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरण बनाउन प्रेरित गरोस्,’ उनले भनेका छन् ।
प्रधानमन्त्री दाहालले जनसंख्याको बढ्दो चाप, विकास निर्माणप्रतिको प्राथमिकता र बदलिँदो मानव व्यवहारले गर्दा वन, जैविक विविधता र प्रकृतिको विनाश, भू–क्षय, प्रदूषण तथा जलवायु परिवर्तनका समस्याले प्रकृतिको स्वभाविक चक्रलाई अवरुद्ध गरेको उल्लेख गरेका छन् ।