विराट अनुपम इटहरीः सवारी लाइसेन्समा स्मार्ट कार्डको अर्थ छिटोछरितो र अत्याधुनिक लाइसेन्स भन्ने अर्थ रहन्छ । यहि कुराले मोरङ, हात्तिमुढाका तेज नारायण पन्डितलाइ स्मार्ट लाइसेन्स लिन आर्कर्षित गर्यो ।

काठमाण्डौमा नोकरी गर्दागर्दै गत बर्षको भदौमा स्मार्ट लाइसेन्स लिएका पण्डित विदेश जाने चक्करमा आफ्नो घर मोरङ आए । कमजोर आर्थिक अवस्थाका उनी अबको एक महिना भित्रमा दुबइमा चारपांग्रे कुदाउने काममा जादैछन । भिषा समेत लागेको र चारपांग्रे कुदाँउन पोख्त हुँदाहुँदै पनि उनले चारपांग्रे लाइसेन्स लिनै पाएका छैनन । कोशि अन्चल यातायात कार्यालयको लाइसेन्स शाखामा पटकपटक चारपांग्रे लाइसेन्स लिन जाँदा पण्डितले फारम भर्नै पाएका छैनन । कारण– इटहरीको लाइसेन्स कार्यालयले स्मार्ट कार्ड लाइसेन्स बनाँउदैन । स्मार्ट लाइसेन्स नगरि सामान्य तरिकाले बाइक र चारपांग्रे लाइसेन्स निकाल्न पनि अवैधानिक हुने कुराले पण्डितलाइ तनावमा पारेको छ । ‘काठमाण्डौ जाँउ धरै खर्च हुन्छ , नजाँउ यहाँ लाइसेन्स बन्दैन’, पण्डित भन्छन, ‘स्मार्ट लाइसेन्समा नयाँ थप्न मिल्दैन भन्छ र म ट्रायलै दिन्छु भन्दापनि त्यो पनि मिल्दैन भन्छ ।’ सफ्टवेयरको कारणले स्मार्ट लाइसेन्स दिन मिल्दैनः कार्यालय प्रमुख इटहरी स्थित कोशि अन्चल यातायात व्यवस्था कार्यालयको सवारी लाइसेन्स शाखाका अनुसार इटहरीमा स्मार्ट लाइसेन्स लागु नभएकोले स्मार्ट लाइसेन्सका काम हुदैनन । ‘हाम्रोमा भएको सफ्टवेयर स्मार्ट लाइसेन्स बाहेकको हो तर स्मार्ट लाइसेन्सको अर्कै सफ्टवेयर हुन्छ’, कार्यालय प्रमुख स्याम सिंह भन्छन, ‘त्यो इटहरीमा अब केहि महिनापछि मात्रै लागु हुने कुरा छ ।’ सिंहका अनुसार इटहरीमा हप्तामा दर्जन हाराहारी सेवाग्रहिहरु स्मार्ट लाइसेन्स थप्न आँउछन ।