काठमाडौँ/प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा जेठ १५ गते मतगणनामा खटिएका स्वयम्सेवकले नै मतपत्र च्यातेपछि निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थगित गरेको थियो । सो घटनाका बारेमा निर्वाचन आयोगले तीन सदस्यीय समिति गठन गरी छलफलसमेत गरिराखेको छ । सदनको आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद आ– आफ्ना आसनबाट उठी सदनको कारबाहीलाई अवरोध गरेकाे थियाे । यही बीचमा सोही पार्टीका सांसद सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकाको स्थगित मतगणना प्रक्रिया तत्काल सुचारु गरी नतिजा सार्वजानिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराए । उनले भने “निर्वाचनमा हार जित हुन्छ, पराजयको पराकाष्ठले मतपत्र च्यात्ने जुन हर्कत भयो, यो गलत कार्य हो, यसले लोकतन्त्र र जनमतलाई सम्मान गर्दैन, जुन परिणाम आए पनि सबैले स्वीकार गर्नुपर्छ र तुरुन्त मतगणना प्रक्रिया सुचारु गर्नुपर्छ ।” सांसद पाण्डेले मतगणना कार्य शीध्र सुचारु नगरे दोस्रो चरणको निर्वाचन हुन नसक्ने चेतावनी दिँदै मतपत्र च्यात्नेमाथि कारबाही गर्न मागसमेत गरे । सांसद पाण्डेको भनाइ सकेपछि पनि प्रतिपक्षी दलका सांसद उठिरहनुभएकाले सभामुख ओनसरी घर्तीले भोलिसम्मका लागि बैठक स्थगित गरे । उनले आफूले प्रतिपक्षी दलले उठान गरेका मागलाई सरकारको ध्यानाकर्षण भएको जानकारी गराउँदै सांसदलाई आसनग्रहण गर्न आग्रह गरे ।  सदनको अर्को बैठक यही जेठ १८ गते बिहीबार दिनको १ बजे बस्नेछ । यसअधि सदन सुचारु गर्ने विषयमा कार्य परामर्श समितिको बैठक समेत बसेको थियो । सभामुख घर्तीको अध्यक्षतामा बसेको बैठकमा दलबीचमा कुरा मिल्न सकेका थिएन । सदनको आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ को राजस्व र व्ययको वार्षिक अनुमानको सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । रासस