धरान/ गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ र तेह्रथुम कारागारबाट १८ कैदीबन्दी रिहा भएका छन् ।मन्त्रिपरिषद्को निर्णयबमोजिम ताप्लेजुङ कारागारबाट आठजना कैदीको कैद मिनाहा भएको छ ।

जेलमा राम्रो व्यवहार गरेको र आचरण सुधार भएका आठजना कैदीको कैद मिनाहा भएको जिल्ला कारागारले जनाएको छ ।कैद मिनाहा हुनेमा चारजना डाका मुद्दाका, तीनजना ज्यान मार्ने उद्योग र एकजना नकावधारी चोरीमा संलग्न छन् ।

कैद मिनाहा हुनेमा फुङ्लिङ नगरपालिका–१ का २६ वर्षीय नवीन तामाङ, सोही स्थानका २३ वर्षीय हेमबहादुर मादेन, २५ वर्षीय बादल भनिने मानकुमार मादेन, मोरङ पथरी–७ घर भई हाल धरान–११ सुनसरी बस्ने २७ वर्षीय अनील भनिने राम लिम्बू छन् ।

उनीहरू सबैले डाका मुद्दामा जिल्ला कारागारमा कैद सजाय भोगिरहेका थिए ।यस्तै ताप्लेजुङ चाँगे–८ का ३४ वर्षीय पेम्बा शेर्पा, मामाङ्खे–२ का २४ वर्षीय सञ्जीव लिम्बू र हाम्पाङ–७ का चुर्से भनिने सुरेन्द्र माबोहाङको पनि कैद मिनाहा भएको छ । उनीहरू ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका थिए ।

यसैगरी हाङ्पाङ–७ का विनोद आङ्बुहाङ लिम्बूको पनि कैद मिनाहा भएको कारागार स्रोतले बताएको छ । २४ वर्षीय आङ्बुहाङ नकाबधारी चोरीमा संलग्न भएपछि कैद सजाय भोगिरहेका थिए ।

उनीहरू सबैको व्यवहार र आचरणमा सुधार भएकाले कैद मिनाहा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताए ।यसैगरी गणतन्त्र दिवसको अवसरमा तेह्रथुम कारागारबाट राम्रो चालचलन भएका १० जना कैदी बन्दी मुक्त भएका छन् ।

४० प्रतिशत कैद भुक्तान गरी असल चालचलन भएका कैदीबन्दीले माफी मिनाह पाएर कैदमुक्त भएका हुन् । कारागारमा रहेका बहुविवाह मुद्दाका पिप्ले–७ बस्ने रमेश विक, ओयाक्जुङ–८ बस्ने राममाया विक र हरिप्रसाद खाती, लालीगुराँस नगरपालिका–९ बस्ने लालबहादुर तामाङ र पञ्चमाया तामाङ कैदमुक्त भएका छन् ।

यसैगरी चोरी मुद्दाका आम्बुङ–६ बस्ने विष्णु महरा नेपाली, कर्तव्यज्यान मुद्दाका मोराहाङ–९ बस्ने टार्जन राई, ओयाक्जुङ–६ की डिकमाया लिम्बू, कुटपिट अङ्गभङ्गको मुद्दाका ओख्रे–३ बस्ने युवराज तिगेला र ज्यान मार्ने उद्योगका आङदिम–९ बस्ने होमप्रसाद गुरुङ मुक्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए ।

उनीहरूको कारागारमा रहँदाको चालचलन हेरी माफी मिनाहाको लागि कारागार व्यवस्थापन काठमाडौंमा सिफारिस पठाएकोमा १० जनालाई मुक्त गर्ने भन्ने आदेश आएकाले कैदमुक्त गरिएको कारागार प्रशासनले जनाएको छ ।