विजयपुर/ स्थानीय तहको निर्वाचनले अहिले माहोल तातेको छ । चोक र गल्लीहरूमा भोट माग्न हिँड्ने राजनैतिक दलका समर्थक र नेताहरूको चहलपहल बाक्लिएको छ ।यसै क्रममा धरानमा पनि चुनावी माहोल छाएको छ । बैशाख ३१ मा चुनाव हुन नसकेपछि केही निराश देखिएका दलका समर्थक तथा कार्यकर्ताहरूमा फेरि जोश पलाएको छ ।

राजनैतिक उपस्थितिका हिसाबले धरान उपमहानगरपालिका क्षेत्रमा एमालेले अहिलेसम्म पकड जमाउँदै आएको छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा एमालेले मेयर÷उपमेयरसहित १२ वडा जितेको थियो । बाँकी ७ वटा वडा नेपाली काङ्ग्रेसले जितेको थियो ।यस पटकको निर्वाचनमा भने त्यसबेला छुट्टाछुट्टै गाविस रहेका साविक पाँचकन्या र विष्णुपादुका समेत समेटिएर धरानमा २० वटा वडा कायम गरिएको छ ।

एमालेले यसपटकको निर्वाचनमा विगतमा भन्दा राम्रो नतिजा ल्याउने दावी गरेको छ ।एमाले सुनसरीका सचिवालय सदस्य तथा क्षेत्र नम्बर १ का इञ्चार्ज प्रकाश राईले धरानमा एमालेले ९५ प्रतिशत स्थान जित्ने दाबी गरे ।

एमालेले राष्ट्रिय राजनीति र आर्थिक विकासका सवालमा लिएको नीतिले पनि विगतको भन्दा बढी जनविश्वास बढेकोले सम्मानजनक जित हासिले गर्ने उनले बताए । एमालेको साङ्गठिक स्थिति तथा विकास निर्माणका क्षेत्रमा सांसदले पाउने निर्वाचन क्षेत्र विकास कोषको बजेटको सदुपयोग, धरानको दिगो विकासमा लिएको अडान र ल्याएका योजनाहरूका कारण शानदार रूपमा जीत हासिल गर्ने उनको भनाइ छ ।

धरानमा रहेका सुकुम्बासीहरूलाई स्वामित्व सहितको बसोबासको व्यवस्था मिलाउने, खानेपानी, विमानस्थल तथा बसपार्क बनाउने सवालमा एमालेले लिएका नीति नै अहिलेसम्म चलिरहेको बताउँदै उनले धरानलाई अबको पाँच वर्षभित्रमा नेपालको ‘डिभाइन हब’ को रूपमा विकास गर्ने योजना तयार गरिसकेको बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धरान क्षेत्रका इञ्चार्ज चोत्लुङले धरानमा यसपटक अाफुहरूले जित्ने दाबी गरेका छन् । माओवादीले आजसम्म राष्ट्र हितमा गरेका कार्य र अहिले ल्याएका जनजीविकाका एजेण्डाहरू जनताका पक्षमा भएकाले यस पटक अाफुहरूले धरानमा मेयर÷उपमेयरसहित हरेक वडामा जीत हासिल गर्ने उनले दाबी गरे ।

‘धरान सचेत नागरिकको बसोबास भएको क्षेत्र पनि हो, सचेत नागरिकले जनताका पक्षमा काम गर्ने पार्टी सहजै पहिचान गर्न सक्नु हुने छ’, उनले भने ।

धरानको खानेपानी समस्या समाधान, एकीकृत सम्पत्ति कर सम्बन्धी भिजन, सुकुम्बासी बस्तीहरूलाई व्यवस्थित गर्न खेलेको भूमिकाहरूले पनि यसपटक अाफुहरूले जित हासिल गर्ने चोत्लुङको भनाइ छ ।नेपाली काङ्ग्रेसका जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र तामाङले नेपाली काङ्ग्रेसले यसपटक अाफ्नाे सङ्गठनलाई बलियो बनाएको र घात तथा अन्तर्घात हुने अवस्था पनि नरहेकाले चुनाव जित्ने दाबी गरे ।

‘काङ्ग्रेसको युवा परिचालन पनि यसपटक बढी भएको छ, स्थानीय स्तरमा देखिएका जनताका समस्यालाई पनि हामीले सम्बोधन गरेकाले चुनाव जित्नेमा ढुक्क छौं’, उनले भने ।

धरानमा खानेपानी, एयरपोर्ट, स्मार्ट सीटी बनाउने जस्ता योजनाहरूमा नेपाली काङ्ग्रेसले नेतृत्व गरिरहेकाले यसपटक चुनाव जित्नेमा कुनै शङ्का नरहेको उनले दाबी गरे ।