फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले बलात्कारमाथि मजाक गरेर आलोचना बटुलेका छन् । देशको दक्षिण भागमा मार्शल ल लगाएपछि उनले एक सैन्य शिविरमा सैनिकहरूलाई सम्बोधन गर्दै तीनजनासम्म महिलालाई बलात्कार गर्न सैनिकहरूलाई छुट रहेको बताए । राष्ट्रपतिको उम्मेदवार भएदेखि डुटेर्टेले दोस्रोचोटि बलात्कारमाथि हल्का टिप्पणी गरेका छन् । एउटा मानवअधिकार संगठनले उनको टिप्पणी घिनलाग्दो भएको प्रतिक्रिया दिएको छ । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनले ट्वीट गरेर बलात्कार कहिलेपनि मजाकको विषय बन्न नसक्ने लेखेकी छन् । डुटेर्टेले सैनिकहरूलाई भने, ‘तपाईंहरूले तीन महिलाहरूलाई बलात्कार गर्न सक्नुहुन्छ र तपाईंका लागि म जेल गइदिन्छु । म भनिदिन्छु, मैले यो अपराध गरेको हो ।’ मानवअधिकार कार्यकर्ता फेलिम किनले डुटेर्टेको यो टिप्पणी घिनलाग्दो मजाक भएको र मार्शल लको बहानामा अधिकार हननलाई यसले प्रोत्साहन गर्ने बताइन् । अघिल्लो वर्ष पनि डुटेर्टेले सन् १९८९ मा एक अस्ट्रेलियाली मिसनरी महिलाको बलात्कार र हत्या भएको विषयमाथि हलुका टिप्पणी गरेका थिए । उनको नयाँ विवादास्पद बयानमाथि उनका प्रवक्ताले टिप्पणी गर्दै डुटेर्टेले बहादुरी देखाएको र बर्दीधारी पुरुष र महिलाप्रति पूरा समर्थन देखाएको र हरेक सैन्य कारवाहीको पूरा जिम्मेवारी लिएको बताए । बीबीसी हिन्दीबाट