धरान/किरात राई योयोक्खा सुनसरीले उभौलीको अवसरमा गरेको साकेल शिली प्रतियोगितामा हासपोसा प्रारम्भिक कार्य समिति शिलीमा उत्कृष्ट बन्दै २५ हजार रुपैया जितेको छ । धरान–१७ साकेला पार्कमा शनिबार सम्पन्न प्रतियोगितामा हासपोसाले २३ वटा प्राकासलाई पछि पार्दै प्रथम बनेको हो । त्यस्तै धरान–१९ दोस्रो बनेको छ भने धरान–८ तेस्रो बनेको छ । दोस्रो र तेस्रोले क्रमशः नगद १५ हजार र १० हजार रुपैया प्राप्त गरेका छन् । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि किरायाका केन्द्रीय अध्यक्ष तिलक राई, सांसद कृष्णकुमार राई, जिल्ला अध्यक्ष कमला राई, नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष रामकुमार मान्डुपा राईलगायतले पुरस्कार वितरण गरेका थिए । त्यस्तै उत्कृष्ट सहभागितामा धरान–१५ पहिलो बन्न सफल भएको छ । दोस्रो धरान–१९ र तेस्रो धरान–८ बनेको छ । धरान बाहिरमा हासपोसा प्रथम, शान्तिनगर दोस्रो र इटहरी प्राकास तेस्रो बनेको छ । साँस्कृतिक सामग्रीमा धरान भित्रबाट धरान–१७ पहिलो बन्दा धरान–१३ दोस्रो र धरान–९/१० तेस्रो बनेको छ । साँस्कृतिक सामग्री तर्फ धरान बाहिर पकली पहिलो बनेको छ भने हाँसपोसा दोस्रो र इटहरी तेस्रो बनेको छ । सहभागी तर्फबाट सबै क्षेत्रलाई मध्यनजर गर्दा धरान–१५ उत्कृष्ट बन्न सफल भएको छ । कार्यक्रममा उत्कृष्ट ढोलमा धरान–१८ का उद्दिम राई र उत्कृष्ट भेषमा धरान–११ का सानिमाया राई बनेका छन् । उत्कृष्ट व्यवस्थापन धरान भित्र धरान–९/१० पहिलो बन्दा धरान–१९ दोस्रो र धरान–१३ तेस्रो बनेको छ । धरान बाहिर बक्लौरी प्रथम बन्दा महेन्द्रनगर दोस्रो र प्रकाशपुर तेस्रो बनेको छ । कार्यक्रममा विजेताहरुलाई प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए । साकेला शिली प्रतियोगिताको निर्णायकहरुमा रामप्रसाद राई, दोर्पध्वज राई, निर्मला राई, सालिकसतासक राई र मदन राई रहेका थिए । कार्यक्रममा सन् २०१७ मा विडिएस तर्फ नेपाल टप बन्न सफल डा. सिदार्थ राईलाई सम्मान पत्रले सम्मानित गरिएको छ । कार्यक्रममा झण्डै ३० हजार भन्दा बढीको उपस्थिति रहेको थियो । विभिन्न जातीय संघ संस्थाका प्रतिनिधि, नगर तथा प्राकासका अध्यक्ष, भाषिक तथा भातृ संस्थाका अध्यक्ष, साँस्कृतिक कलाकार संघको नगर तथा जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ