धरान । स्थानीय तहको चुनावलाई लक्षित गर्दै नेकपा (एमाले) ले घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा धरानभरीका पत्रकारहरुलाई शनिबार पार्टी कार्यालयमा निमन्त्रणा ग¥यो ।
[caption id="attachment_45924" align="alignnone" width="1188"]
एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शनिबार प्रतिवद्धता पत्र घोषणा गर्दै । तस्बिरः भोजराज श्रेष्ठ[/caption]
८ बजेको निमन्त्रणा अनुसार पार्टी कार्यालय पुग्दा अघिदेखि नै पार्टी कार्यालयको माहौल तात्तिएको थियो । पार्टीकै केही जिम्मेवार नेता कार्यकर्ताहरुले ‘पार्टीले विधि सम्मत तरिकाले उम्मेद्वारी छनौट’ नगरेको भन्दै तालाबन्दीसहित धर्ना कसेका थिए । एकपछि अर्को आउने क्रमले पार्टी कार्यालय भीड बढ्यो ।
दुई तले भवनको माथिल्लो तलामा चुनावको घोषणा पत्र (एमालेको भाषामा प्रतिवद्धता पत्र) सार्वजनिक गर्ने कार्यक्रम थियो भने तल्लो तलामा पार्टीकै असन्तुष्ट नेता कार्यकर्ताले धर्ना कसेर बसेका थिए । जसमा जिल्ला सदस्य भुवन मोक्तान र एक नम्बर क्षेत्रीय कमिटी सचिवालय सदस्य हर्क चुम्मे थिए ।
भुवन ७ नम्बर वडाबाट अध्यक्षका आकांक्षी हुन् भने चुम्मे १० नम्बर वडाका आकांक्षी हुन् । निम्तो अनुसार प्रतिवद्धता पत्र घोषणा सभामा पुग्दा केही अघिसम्म देखिएका पाटी नगर अध्यक्ष भने घोषणा सभामा देखिएनन् । पार्टीका जिम्मेवार नेताहरुले अध्यक्ष विशेष कामले बाहिर गएको बताइयो । र, सांसद कृष्णकुमार राई, जिल्ला कमिटी सदस्य जयकुमार राई, मुरारी सुवेदीलगायतका नेताहरुको उपस्थितिमा पार्टीको प्रतिवद्धता पत्र घोषणा गरियो ।
त्यसमा नगरका अध्यक्ष नदेखिएपछि पत्रकारहरुले प्रश्न गरे । तर, क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर राईले विशेष कामले बाहिर गएको बताए । पत्रकारहरुले बहिस्कार हो कि क्या हो भन्नेसम्मको जिज्ञासा राखेका थिए । तर, जव कार्यक्रम सकियो । एमाले नगर अध्यक्ष चिया पसलमा अघि भेटियो । सामान्य भलाकुसारीमा ठाउँ नभएकाले नबसेको छोटो प्रतिक्रिया दिए ।
के छ एमालेको प्रतिवद्धता पत्रमा ?
एमालेले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ । जसमा विभिन्न उपशिर्षकहरु राखेर पाँचवर्ष भित्र गर्ने कामहरुको सूची तयार पारेको छ । अल्पकालीन, दिर्घकालीन योजनाहरुको छनौट गरेर पार्टी अघि बढ्ने जनाइएको छ । पर्यटनको प्रचुर सम्भावना रहेकाले आर्थिक स्रोत मात्रै नभई धरान ‘पर्यटन’ मा पूर्वको हव हुन सक्ने एमालेको दाबी छ ।
त्यही दाबीलाई साकार पार्नको लागि आफ्ना उम्मेद्वारलाई मत दिएर जिताएमा ५ वर्षभित्र धरानलाई पर्यटन विकासमा नयाँ फड्को मार्ने बताएको छ । जसका लागि हाल भइरहेका पर्यटकीय स्थलहरुलाई थप सुधार गर्दै पर्यटकीय क्षेत्रमा पुग्नको लागि केवलकारकोसमेत सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । श्रीगाउँ, दानाबारी, हर्दियामा हरीत परिक्रमा मार्ग निर्माण गर्ने प्रतिवद्धता गरेको छ ।
एमालेले उद्योगधन्दा, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिलगायत २७ वटा विभिन्न क्षेत्रहरुको विकास गर्ने प्रतिवद्धता जनाएको छ । यसलाई पूरा गर्न एमाले प्रतिवद्ध रहेको जिल्ला सदस्य मुरारी सुवेदीले प्रतिवद्धता पत्र घोषणा कार्यक्रममा बताए । एमालेले महिला शसक्तिकरण र विकास, आदिवासी जनजाति, बालबालिका, युवा विकास, भूतपूर्व सैनिक, बैदेशिक रोजगारी, विपन्न दलित शसक्तिकरण, खेलकुद विकास, वातावरण संरक्षण, ज्येष्ठ नागरिक, अपाङ्गता र यौनिक अल्पसंख्यक, स्वच्छ पिउने पानी र सरसफाई, साहित्य संगीत र कला, मर्यादित श्रम सम्मानित मजदुरलगायतलाई व्यवस्थित गर्ने बताएको छ ।
त्यस्तै सडक तथा भौतिक निर्माण, यातायात व्यवस्थापन, सूचना प्रविधि संचार, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन, सहकारी विकास, कर तथा आर्थिक प्रणाली, सुशासन, उपभोक्ता हित संरक्षण, र विविध क्षेत्रहरुको तोकेर काम गर्ने प्रतिवद्धता जनाएको छ ।