इटहरी/ विवाह भएको एक महिनामै वेहुलीको मृत्यू भए पछि माइति पक्षले हत्या गरिएकाे अाराेप लगाएका छन् । सुनसरीको खनारका कृष्ण पोख्रेलले दोस्री श्रीमतिको रुपमा गत वैशाख १० गते भित्र्याएकी सुन्दर हरौजा १० कि ३४ वर्षीया पुण्यकला सत्यालको गत जेठ ९ गते मृत्यु भएको मृतकका दाजु देवराजले बताए ।

घटनामा शंका लागे पछि आफूहरुले घटनाको अनुसन्धान गर्न माग गरेको पनि उनले बताए । कृष्ण र पुण्यकलाबीच आफूखुसी गत वैशाख २ गते विवाह भएको मृतकका दाजु देवराजको भनाई छ ।कृष्ण पोख्रेलका परिवारले भने पुण्यकलाले विष सेवन गरी आत्म हत्या गरेको जनाएको छ ।

यता पुण्यकलाका दाजु देवराज सत्यालले भने घटना शंकास्पद भएको र मृतकको शरीरमा नीलडाम रहेकोले हत्या गरेको दावी गरेका छन् । मृतक पुण्यकलाको शरिरमा भएका निलडामको फोटो सहित इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिए पनि प्रहरीले निवेदन लिन अस्वीकार गरेको उनले बताए ।

यता, इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक शैलेश न्यौपानेले भने सो विषयमा कुनै पनि पक्ष निवेदन लिएर नआएको बताए । ‘ मैले पनि प्रहरीले जाहेरी लिएन भनको हल्ला सुनेको हो’ प्रहरी निरिक्षक न्यौपानेले भने ‘केटा पक्षले मोरङ प्रहरीमा श्रीमतिले आत्म हत्या गरेको भन्ने जानकारी गराएको छ, माइति पक्ष ले मलाई भेट्न आएका छैनन्, निवेदन आयो भने हेरेर जाहेरी दर्ता गर्ने वा यो यो कारणले नगर्ने भन्न सकिन्छ ।’

जेठ नौ गतेनै विष सेवन गरेकी भनिएका पुण्यकलाको मृत्यु पछि मात्रै जेठ १० गते आफूहरुले खवर पाएको अर्का दाजू धनपति सत्यालले बताए । मृत्यु पछि पुण्यकलाको शवको विहीबार दाहसंस्कार गरिएको थियो ।

अहिले कृष्ण पोख्रेलेका परिवारले हिन्दु धार्मिक परम्परा अनुसार उनको काजकिरीया गर्दै आएको छ । ‘पुण्यकलाले विष सेवन गर्दा, उपचार गराउँदा र पोष्टमार्टम रिपोर्ट तयार गर्दासमेत हामीलाइ जानकारी गराइएन’ दाजु देवराजले भने ‘शरिरमा रहेका नीलडाम हेर्दा पुण्यकलालाई कुटपिट गरि हत्या गरिएको हो ।’

माइति पक्षले भने प्रहरीले जाहेरी लिन नमानको भन्दै दोषीलाई कारवाही गर्ने वातावरण बनाउन मानव अधिकार कर्मीसमक्ष माग गरेका छन् । यता पुण्यकलाका श्रीमान् कृष्णले भने ब्लाष्टसँग कुरा गर्दै आफूहरु काजकिरियामा रहेकाले घटनाबारे आफूहरुले प्रहरीलाई जानकारी गराइ सकेको बताए ।

‘घटना भए पछि हामी काजकिरियामा छौं’ उनले ब्लाष्टसँग भने ‘सम्पूर्ण डकुमुमेन्ट प्रहरीमा छ, उताबाटै बुझ्न सक्नुहुनेछ ।’