
काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४-७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए ।
मन्त्रिपरिषद्का यही जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।
यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् ।
निर्वाचन आचारसंहिता लागू भएकाले सरकारले यस वर्षको नीति तथा कार्यक्रममा नयाँ योजना नभई गत वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा गरेकाे भोलिपल्ट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सदनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको साथ र सहयोगमा नेकपा (एमाओवादी केन्द्र)का अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा २०७३ साउन २० गते नयाँ सरकार गठन गरेका थिए ।
वर्तमान सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि नयाँ कार्यक्रम नल्याउने र विगतका कार्यक्रमलाई नै निरन्तरता दिने जानकारी दिइसकेको छ ।
संसद् भवनमा आउदा राष्ट्रपति भण्डारीलाई सभामुख ओनसरी घर्ती, उपसभामुख गङ्गाप्रसाद यादव र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । रासस