धरान/ जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी प्रमाणित भएका धरानका एक व्यक्तिलाई फरार रहेको तीस वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।धरान–१० का लालु भनिने ललित राईलाई इलाका प्रहरी कार्यालयले तीस वर्षपछि पक्राउ गरेको हो । उनलाई २०४७ असोज ५ गते जिल्ला अदालत सुनसरीले ३ वर्षको कैद सुनाएको थियो ।
तर, घटनालगत्तै उनी फरार थिए । उनी धरान–१० मै लुकिछिपी बसेको अवस्थामा इप्रकाको टोलीले पक्राउ गरी आइतबार नै अदालतमा पेश गरेको छ ।
यस्तै प्रहरीले धरानको तीनकुने चेकपोष्टबाट शनिबार मोरङ विराटनगर–२१ का २४ वर्षीय दीपक सहनीलाई समातेको छ । कालो प्लाष्टिकको झोलामा १६ बोतल कोरेक्स लुकाएर ल्याउँदै गरेको अवस्थामा चेकजाँचको क्रममा उनको साथबाट बरामद भएको थियो । उनलाई लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बलात्कारका दोषी र लागूऔषधमा संलग्नलाई आइतबार सार्वजनिक गरेको हो ।