धरान/प्रधानमन्त्री पुष्पकमल दाहालले गत आइतबार सम्पन्न स्थानीय तहको चुनावमा भरतपुर महानगरको ४ नम्बर वडाबाट मत हाले । त्यही वडामा माओवादी केन्द्र होइन, एमालेका हरि आचार्यले वडाध्यक्ष जिते । एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ बाट मत हाले । त्यही वडाको नतिजा भने एमालेको पक्षमा आएन । आजको कान्तिपुर लेख्छ- कांग्रेसका कमलराज आचार्यले वडाध्यक्ष जिते । स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भइरहँदा यस्तै केही रोचक रेकर्ड बनेका छन् । अधिकांश स्थानमा मतगणना सकिँदा कतै उम्मेदवार त, कतै मतका रेकर्ड बनेका छन् । एकलौटी किल्ला भत्किए यो चुनावमा प्रमुख तीन दलकै पकड मानिएको किल्ला भत्किएका छन् । विगतका चुनावमा उनीहरूले पटकपटक वर्चस्व स्थापित गरेका स्थान गुमाउनुपरेको छ । नवलपरासीको गैंडाकोटलाई कांग्रेसको निकै ठूलो पकड रहेको क्षेत्र मानिन्थ्यो । कांग्रेसका महामन्त्री शंशाक कोइरालाको निर्वाचन क्षेत्रसमेत हो । तर गैंडाकोटको त्यो किल्ला यसपटक एमालेले तोडेको छ । मेयरमा एमालेका छत्र पौडेलले २ सय २४ मत अन्तरमा कांग्रेसका गजेन्द्र आलेलाई हराए । काभ्रेको बनेपालाई पनि कांग्रेसकै किल्ला मानिन्थ्यो । त्यहाँ पनि एमालेले मेयर जितेको छ । यो जितलाई ऐतिहासिक मान्दै एमाले अध्यक्ष केपी ओली शुक्रबार बनेपाको विजयसभामा आफैं सहभागी हुन गए । स्याङ्जालाई त कांग्रेसको पकड भएको जिल्ला नै ठानिन्छ । तर त्यहाँका ११ वटा स्थानीय तहमध्ये ७ वटामा एमालेले जितेको छ भने कांग्रेसले चारवटामा चित्त बुझाउनुपरेको छ । पुतलीबजार र गल्याङ नगरमा एमालेले किल्ला गाडेको छ । उता तनहुँमा एमालेको पकड मानिएको शुक्लगण्डकी नगरमा भने यसपटक कांग्रेसले जितेको छ । काभ्रेको पाँचखालमा पनि एमालेको गढ भत्काउँदै कांग्रेस विजयी भएको छ । कांग्रेसले यसअघिका दुई चुनावमा भत्किएका आफने किल्ला गोरखामा फिर्ता ल्याएको छ । सधैं जित्दै आएको गोरखामा विगतका दुइटा संविधानसभाका चुनावमा माओवादीले जितेको थियो । तर माओवादीमा आएको विभाजन र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी बनेको फाइदा यसपटक कांग्रेसलाई भयो । गोरखाका ११ वटा स्थानीय तहमध्ये दुई नगरपालिकासहित नौवटामा कांग्रेसले विजयी झन्डा फहराएको छ । माओवादीले दुई सिटमा चित्त बुझाउनुपरेको छ । त्यस्तै नयाँ शक्तिका भट्टराई आफ्नै गृहनगर पालुङटारमा तेस्रो भएका छन् । उनले आफ्नो पकड जोगाउन सकेनन् । बाग्लुङलाई राष्ट्रिय जनमोर्चाको गढ मानिथ्यो । त्यहाँको एउटा गाउँपालिकाबाहेक अन्यमा जनमोर्चाले आफ्नो उपस्थिति देखाउन सकेन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकै गृहनगर गल्कोटमा राजमोलाई कांग्रेसले हरायो । त्यहाँ मेयरमा केसीकै भाइ टंक केसी उठे पनि विरासत जोगाउन सकेनन् । बाग्लुङको एउटा बरेङ गाउँपालिकामा मात्र जनमोर्चाले जित हासिल गर्‍यो । यो चुनावमा राप्रपाले जसरी जित्ने अनुमान थियो, त्यो पनि सत्य सावित भएन । धादिङको रुविभ्यालीमा मात्र राप्रपाले आफ्नो इज्जत जोगायो । कमल थापाको गृह जिल्ला हेटौंडा, सांसद विक्रम पाण्डेको चितवन जिल्लामा उसले राम्रो मत ल्याउन सकेन । विगतका चुनावमा जितेका धेरे स्थानमा यसपटक हारे पनि माओवादीले रुकुममा भने सबै स्थानमा जित हासिल गरेको छ । अन्य स्थानमा भने माओवादीका पनि धेरै किल्ला तोडिए ।