इटहरी/रुखमा झुण्डीएको अवस्थामा फेला परेका इटहरी– १० का एक युवालाई हत्या गरिेको भन्दै आफन्तले घटनाको छानविन गर्न माग गरेका छन् ।

इटहरी–१० डुमरटकाका २२ वर्षिय आशिष चौधरी गत वैशाख २२ गते घर भन्दा तीन सय मिटर जति टाढा सिसौको रुपमा डोरी घाँटीमा बाँधेर झुम्डीएको अवस्थामा फेला परेका थिए ।

वैशाख २१ गते साँझ आफन्तनै पर्ने भीम चौधरीले उसलाई मार्ने धम्की दिएको र रातीनै यस्तो अवस्थामा भेटिएकोले भीमकै योजनामा आशिषलाई मारिएको हुनसक्ने भन्दै छानविन गर्न मृतकका बुबा मान्द्रोस चौधरीले माग गरेका छन् ।

ती युवक झुण्डीएको ठाउँमा गत वैशाख २७ गते घरबाट हराएको खसी समेत आन्द्रा भूँडी निकालिएको अवस्थामा फेला परे पछि उनीहरु थप आश्चर्यमा परेका छन् ।

नाताले दाजु पर्ने जीवन चौधरीका अनुसार प्रहरीले भीम चौधरीको घर खानतलासी गर्दा चारै सुरमा रातो कपडा, सिन्दुर समेत गाडीएको अवस्थामा फेला पर्नु र मान्छे झुण्डीएकै स्थानमा खसी समेत लगेर आन्द्रा भूँडी निकालेर छाड्नुले थप आश्चर्य बनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले भने पोष्ट मार्टम रिपोर्टमा मृतकको हत्या भएको कुनै कारण नदेखिएकोले अझै पनि अनुसन्धानकै क्रममा रहेको बताए ।

‘हत्या हो भन्ने अवस्थामा पुगेका छैनौं’ डिएसपी सुवेदीले ब्लाष्टसँग कुरा गर्दै भने ‘हामी अझै पनि अनुसन्धानकै क्रममा छौं, ।’ मृतक आशिषको दुई वर्ष अघि विवाह समेत भएको स्थानीयले बताएका छन् ।