शनिश्चरे/झापाको पृथ्वीनगर–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल किचकबध क्षेत्रको पछिल्लो उत्खनन्मा २ हजार वर्ष पुरानो स्वस्तिक चिन्ह फेला परेको छ ।पुरातत्व विभागबाट पछिल्लो पटक वैशाख १२ देखि थालिएको सातौं उत्खननबाट दुई हजार वर्ष पुरानो स्वस्तिक चिह्न भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जनाएका छन् ।

उत्खनन्का क्रममा स्वस्तिकका साथै ६० सेन्टिमिटर चौडाइ भएको ४० मिटर लामो पर्खाल, विशेष प्रयोजनमा प्रयोग हुने छ मिटर लामो ठाडो इँटाको पर्खाल र एक सुरक्षा पोस्ट पनि फेला परेकोे उनले बताए । महाभारतकालिन ऐतिहासिक धार्मिकस्थलको रुपमा चिनिएको किचकबधमा पाण्डवहरु गुप्तबास बसेको बेलामा यस स्थानमा विराट राजाका साला किचकलाई मारेको किम्बदन्ती छ ।

किच्चकवध क्षेत्रको १० बिगाहा जग्गाको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी पनि स्थापना भएको छ ।यसअघि गरिएको सो उत्खननमा पुराना संरचनाका १७ वटा खाडल बनाएर उत्खनन गर्ने कार्य थालनी गरेको हो ।

२०५८ सालबाट सुरु गरिएको उत्खननबाट वाण, प्रशासकीय भवन, डुङ्गाका थाल, कचौरा, माटोका मूर्ति, माटाका भाँडा वर्गन र तवेला फेला परिसकेको पुरातत्वविद् आचार्यले बताउनु भयो ।

हालसम्म फेला परेका संरचना २२०० वर्षदेखि २००० वर्ष पुराना भएको उहाँको अनुमान छ । तत्काल उच्खनन गरिएको स्थानदेखि केही पूर्वमा सुंगकुसन कालका भन्दा पनि अगाडि ध्वस्त संरचना फेला पर्ने पुरातत्वविदले अनुमान गरेका छन् ।

सरकारी बजेटको अभावमा उत्खनन कार्य ढिलो भइरहेको भन्दै पुरातत्वविद् आचार्यले सरकारले आवश्यक बजेट विनियोजन भएमा दुई वर्ष भित्रमा उत्खननका सबै कार्य पूरा गर्न सकिने बताएका छन् ।