झापा/ झापाको पृथ्वीनगर–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल किचकबधमा पुरातत्व विभागले पछिल्लो पटक गरेको उत्खननबाट दुई हजार वर्ष पुरानो स्वस्तिक चिह्न भेटिएको छ ।
गत वैशाख १२ गतेदेखि गरिएको उत्खननमा दुई हजार वर्ष पुरानो स्वस्तिक चिह्नसहित ६० सेन्टिमिटर चौडाइ भएको ४० मिटर लामो पर्खाल, विशेष प्रयोजनमा प्रयोग हुने ६ मिटर लामो ठाडो इँटाको पर्खाल र एक सुरक्षा पोस्ट पनि फेला परेकोे पुरातत्वविद् आचार्यले जानकारी दिए ।
पछिल्लो पटक गरीएको उत्खनन साताैँ हो । उत्खनन गर्नुभन्दा पहिले एक पटक परीक्षणपनि गरिएको थियो । सो ऐतिहासिक क्षेत्रको क्षेत्रफल १० बिगाहा जग्गा रहेको छ भने त्यसको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरीएको छ ।
यसअघि गरिएको सो उत्खननमा पुराना संरचनाका १७ वटा खाडल बनाएर उत्खनन गर्ने कार्य थालनी गरेको हो । प्रारम्भमा २०५८ सालमा सुर गरिएको उत्खननबाट वाण, प्रशासकीय भवन, डुंगाका थाल, कचौरा, माटोका मूर्ति, माटाका भाँडा वर्तन र तवेला फेला परिसकेको पुरातत्वविद् आचार्यले जानकारी दिए ।
धार्मिकस्थलको रुपमा चिनिएको किचकबध पाण्डवहरुले गुप्तबास बसेको बेलामा विराट राजाका साला किचकलाई मारेको किम्बदन्ती रहेको छ । फेला परेका संरचना २२०० वर्षदेखि २००० वर्ष पुराना भएको र तत्काल उत्खनन गरिएको स्थानदेखि केही पूर्वमा सुंगकुसन कालका भन्दापनि अगाडि ध्वस्त संरचना फेला पर्ने अनुमान गरिएको उत्खननविद् आचार्यले बताए ।
बजेटको अभावमा उत्खनन कार्य ढिलो भइरहेको भन्दै पुरातत्वविद् आचार्यले सरकारले आवश्यक बजेट विनियोजन गरेमा दुई वर्षभित्रमा उत्खननका सबै कार्य पूरा हुने बताए ।
रासस