काठमाडौं/ललितपुरमा गठबन्धन अनुसार भोट नपाएपछि राप्रपा एमालेसँग असन्तुष्ट देखिएको छ । गठबन्धन अनुसार किन राप्रपाले भोट पाएन ?राप्रपा अध्यक्ष थापाको बयानः

–चुनाव भन्दा एक–डेढ महिना अगाडिदेखि नै तालमेलका विषयमा कुराकानी भएको थियो । तालमेल गर्नुपर्छ भनेर एमालेले नै प्रस्ताव ल्याएको हो । हामीले उसको प्रस्ताव तालमेल कसरी गर्ने भन्ने पर्खेर बसेका थियौँ । उपमेयरसहित १० वडा राप्रपाले लिने भन्ने थियो । तर, अन्तिमसम्म पनि एमालेले औपचारिक प्रस्ताव ल्याएन ।

मनोनयन दर्ता हुने दिन एमालेको तर्फबाट तपाईंहरु मेयर खाली राख्नुस, हामी उपमेयर खाली राख्छौँ भन्ने प्रस्ताव आयो । त्यतिन्जेल ढिला भैसकेको थियो । हामीले मेयरका उम्मेदवार तय गरिसकेका थियौँ । त्यहीँ अनुसार मनोनयन गर्यौ । केन्द्रको नीति अनुसार ललितपुरमा पनि तालमेलको सहमति बन्यो । र, हामीले मेयरको उम्मेदवारी फिर्ता लियौँ । वडाको कुरा मिलेको थिएन । एमालेबाट जो जहाँ बलियो छ, त्यहाँ अर्कोले समर्थन गर्ने गरी आ–आफ्नो तरिकाले प्रचार गरौँ भन्ने कुरा आयो । अन्तिमसम्म पनि वडाको तालमेल मिलाउन एमालेले चासो दिएन ।

हामीले उहाँहरुका माग अनुसार सवै ठाँउमा सहयोग गर्यौँ । उहाँहरुले मेयर र हामीले उपमेयर दिएपछि गठबन्धन अनुसार भोटिङ हुन्छ भन्नेमा हामी ढुक्क थियौँ । तर, उहाँहरुले सहमति विपरित भोट हाल्नु भयो । उम्मेदवार नै नभएको पदमा सूर्य चिन्हमा भोट हाल्नु भयो । हाम्रो उपमेयरलाई भोट दिनुभएन ।

समीकरण भयो । तर, सहमति अनुसार काम भएन । हामीलाई घाटा भयो । आफ्नै साथीभाईहरु पनि रिसाए । उम्मेदवार पनि रिसाए । सहमति अनुसार भोट पनि आएन । दुईतिरबाट हामीलाई घाटा भयो ।

सहमति अनुसार भोट नआएपछि हामीले मेयरका उम्मेदवारलाई एमाले नेतृत्वसँग कुरा गर्न भन्यो । उहाँले कुरा पनि गर्नुभयो । अव मतगणना सकिएपछि समीक्षा गरौलाँ भनेका छन् ।

उहाँहरुको कुरा के आउँछ हेरौँ । हामी धोका भएको कुरा पत्रकार सम्मेलन गरेर राख्छौँ । ठूलो विश्वासघात भयो । यहीँ शब्द अहिलेसम्म मिडियामा त भनेका छैनौँ । तर, भन्नुपर्ने अबस्था आयो ।

मेरो विचारमा सहमति अनुसार नेतृत्वले भोटिङका लागि कार्यकर्तालाई निर्देशन दिएन । त्यसको असर यहाँ देखियो ।