रङ्गेली/मोरङमा इजाजतप्राप्त हतियार बुझाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरे पनि अधिकांशले हतियार बुझाएका छैनन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले दर्ता भएका वैध हतियार प्रहरीमा बुझाउन दुई साताअघि सर्वसाधारणलाई आग्रह गरेको थियो ।

सूचना जारी गरेको लामो समय बितिसक्दा पनि हतियार सङ्कलन नभएपछि सुरक्षामा चुनौती बढेको देखिन्छ । हतियार राख्नेहरूमा पूर्वअञ्चलाधीश, पूर्वप्रशासक, प्रधानपञ्च, सरकारका उच्च अधिकारी, राजनीतिज्ञलगायत विशिष्ट व्यक्ति छन् । व्यक्तिगत सुरक्षाका लागि जिल्ला प्रशासनमा दर्ता गरेर हतियार राख्न सकिने प्रावधान छ ।

सुरक्षाका लागि सरकारले हतियार राख्न खुल्ला गरेपछि पञ्चायतकालमा धेरै पहुँचवालाले हतियारको अनुमति लिएका थिए । हतियार घरमै सजाएर राख्ने चलन छ, पहुँचवालाहरूको । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्दीप भण्डारीले दुई साताको अवधिमा थोरैमात्र हतियार प्रहरीमा बुझाइएको बताए ।

जिल्ला प्रशासन कार्यालयमा ७ सय २३ हतियार दर्ता रहेकामा बुधबारसम्म ३१ जनाले मात्र हतियार बुझाएको एसपी भण्डारीले जनाए ।दर्तावाला हतियार भएका घर–घरमा पुगेर हतियार नियन्त्रणमा लिइने बताउँदै एसपी भण्डारीले भने, ‘समय अवधिमा नबुझाउनेको घर–घरमा सर्च गरेर हतियार ल्याउँछौँ । ’

स्वतस्पूmर्त हतियार बुझाउन चाहे मोरङको कुनै पनि प्रहरी कार्यालयमा बुझाउन सकिनेछ । निर्वाचनलाई निष्पक्ष र शन्तिपूर्ण सम्पन्न गर्न प्रशासनले दर्तावाला हतियार नियन्त्रणमा लिन लागेको हो ।निर्वाचन अवधिमा दर्तावाला हतियारकै दुरूपयोग हुनसक्ने आशङ्का बढ्ने हुँदा नियन्त्रणमा लिने गरिएको प्रशासनले जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले निर्वाचन अवधिसम्म कुनै पनि शर्तमा अधिकारप्राप्त हतियार पनि कसैले राख्न नपाउने बताए । मोरङ प्रशासनका अनुसार दर्तावाला हतियार लिनेहरूमा अधिकांश विराटनगरवासी छन् ।हतियार राख्न अनुमति लिने व्यक्तिहरूले पाँच वर्षसम्म नवीकरण नगरे स्वतः अवैध हुन्छ ।

हतियार तथा खरखजाना ऐनअन्तर्गत त्यस्ता अधिकारवाला व्यक्तिमाथि कारवाही हुने व्यवस्था छ । मोरङ प्रशासनको विवरणअनुसार ५० वर्ष पुराना हतियार अभैm नवीकरण भइरहेका छन् । नवीकरण गरिरहेका हतियारहरूमा एकनाले बाह्रबोरे ३ सय ४२ थान छन् । यस्तै २ नाले बाह्रबोरे बन्दुक २ सय ७ थान, एकनाले २५ र बाइसबोरे राइफल ५० थान, एकनाले टोेटा बन्दुक १८ थानलगायत हतियार मोरङमा दर्ता छन् ।