धरान/ चौबिसौं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) १९ नम्बर वडा कमिटीले युवा दौड प्रतियोगिता सम्पन्न गरेको छ ।युवालाई लक्षित गरी आयोजित प्रतियोगितामा आमोस लिम्बू विजेता बनेका छन् ।

९९ जना स्पर्धीलाई पछि पारेर लिम्बू विजेता बनेका हुन् । उनले ३ हजार रुपैयाँसहित प्रमाणपत्र पाए । यस्तै रोहित लिम्बू दोस्रो हुँदै २ हजार रुपैयाँ प्राप्त गरे भने विनेश राई तेस्रो हुँदै एक हजार रुपैयाँ पाएका छन् ।

प्रतियोगितामा एक सय युवा दौडिएका थिए । धरान–१९ को बालकचौकदेखि शुरु भएको दौड वीरेन्द्र चौक, किरात चौक, यलम्बर चौकहुँदै यलम चोकसम्म आइपुगेर टुङ्गिएको थियो । दौडमा १९ वडाका युवा मात्र सहभागी थिए । कार्यक्रमको उद्घाटन एमाले नगर अध्यक्ष तारा सुब्बा र निर्वाचन परिचालक कमिटीका संयोजक प्रकाश राईले संयुक्त रुपमा गरेको क्षेत्रीय समिति सदस्य पूर्ण लिम्बूले जानकारी दिए ।

प्रतियोगितामा विजेता युवाहरुलाई नगर अध्यक्ष सुब्बा लगायत वडा अध्यक्ष हरि राईले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता करीब ३ किलोमिटरमा गराइएको थियो । जननेता मदन भण्डारी र जीवराज आश्रितको पोखराबाट पूर्व आउने क्रममा जेठ ३ गते दासढुङ्गामा हत्या भएको थियो । हत्या अझै रहस्यमय छ ।