इलाम । इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विद्युत् उत्पादन शुरू गरेको छ । ७.६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले हाल हिउँदयाममा अढाइदेखि तीन मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । सानभी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजना निर्माण शुरू भएको २८ महीनामै सम्पन्न भई विद्युत् उत्पादन शुरू भएको सञ्चालक पाल्देनकाजी लाप्चाले जानकारी दिए । रू. १ अर्ब ५७ करोडमा निर्माण सम्पन्न भएको आयोजना २०७१ मङ्सिर ५ गतेदेखि निर्माण शुरू गरिएको थियो । वार्षिक ४ करोड ३० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको विद्युत् पावर हाउसबाट इलामको गोदकस्थित कावेली कोरिडोरको सब स्टेसनमा साढे १० किलोमिटर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ । लक्ष्मी बैङ्क मुख्य लगानीकर्ता रहेको आयोजनामा कैलाश विकास बैङ्क, प्रभु बैङ्क र भिवोर सोसाइटी बैङ्कले लगानी गरेका छन् । आयोजनामा जापानको तोसिवा कम्पनीका सामान प्रयोग गरिएको सञ्चालक लाप्चाले जानकारी दिए । नेपालमै साना जलविद्युत् आयोजनामा पहिलोपटक तोसिवाको सामग्री प्रयोग भएको हो । पावर हाउसमा ४ सय किलोवाट क्षमताका दुईओटा फ्रान्सिस टर्वाइन जडान गरिएका छन् । आयोजनाले फिक्कलदेखि पावर हाउससम्म साढे १० किलोमिटर सडक निर्माण पनि सम्पन्न गरेको छ । सडक निर्माणपछि स्थानीयलाई आवतजावत गर्नसमेत सहज भएको छ । रासस