इटहरी । इटहरीको यातायात व्यवस्था कार्यालयमा सफ्टवेयरमार्फत् भएको राजस्व हिनामिनामा मुख्य जिम्मेवार भनिएका सुरेश अधिकारीको खोजी प्रहरीले तीव्र बनाएको छ । छली प्रकरणमा उनीसहित कार्यालयका पाँच जना कर्मचारी निलम्बनमा परेपछि अख्तियारले उनीहरुलाई बयानका लागि बोलाएको थियो । मुख्य अभियुक्त लेखापाल सुरेश अधिकारीसहित कार्यालय प्रमुख उपसचिव नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, रुद्रप्रसाद दाहाल र नायव सुब्बा टीका बास्तोलालाई बयानको लागि बोलाएकोमा सुरेशबाहेक सबै बयानमा उपस्थित भएको अख्तियार कार्यालयले जनाएको छ । सुरेश अझै फरार रहेका छन् । उनको खोजी तीव्र पारिएको जनाइएको छ । इटहरीस्थित आलिसान भवनमा बस्दै आएका उनी ५६ करोड ५८ लाख आर्थिक भ्रष्टाचारको प्रकरण सार्वजनिक भएसँगै रातारात घरका सामानसहित काठमाडौ भागेका थिए । उनका तीन वटी श्रीमती छन् भने उनको अरबौंको सम्पत्ती छ ।
सफ्टवेयर कम्पनिमाथि पनि निगरानी यस्तै सफ्टवेयर नै नियन्त्रणमा लिएर केही कर्मचारीले गरेको राजस्व छलीमा संलग्न भएको आशंकामा सफ्टवेयर कम्पनिका पाँच जना कर्मचारीसमेत निलम्बनमा परेका छन् । इटहरीस्थित यातायात व्यवस्था विभागमा कार्यरत् फोकस वान नामक सफ्टवेयर कम्पनिका पाँच जना कर्मचारीलाई सोही कम्पनिको मुख्य कार्यालयले निलम्बन गरेको हो । देशभरका यातायात व्यवस्था कार्यालयमा भीआरएस प्रणाली जडान गर्ने निजी कम्पनी फोकस वान सफ्टवेयरका पाँच जना कर्मचारीलाई काम गर्न रोक लगाइएको छ । भीआरएस सिस्टमबाटै सवारी करहरुको कम्प्युटराइज डाटा राखिन्छ । फोकस वानको माथिल्लो निकायले कोशी अञ्चल यातायात कार्यालयमा रहेका पाँच जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको हो । फोकस वानका कार्मचारीको समेत मिलेमतोमा यातायात कार्यालयमा ५६ करोड ५८ लाख रुपैयाँ राजस्व हिनामिना भएको आशङ्का गरिएपछि उनीहरुलाई काम गर्न वञ्चित गरेर यातायातकै कर्मचारीबाट काम हुन थालेको यातायात कार्यालयले जनाएको छ । कार्यालयको सिस्टम नै बिगारेर रकम हिनामिना भएको पाइएको थियो यसै मार्फत् इ–बिलिङ्ग हुने गर्दछ । इ–बिलिङ्गलाई लेखापाल र लेखा अधिकृतले रुजु गरेपछि मात्रै सर्वसाधारणको सवारी सम्बन्धी काम हुन्छ ।
-न्युजलयबाट साभार