धनकुटा/धनकुटाको विभिन्न स्थानमा मंगलवार दिउँसो हावाहुरी सहित परेको अविरल वर्षासंगैको चट्याङ्ग लागेर ८ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार वर्षासंगै आएको चट्याङ्ग लागेर साविक आखिसल्ला गाविस वडा नं.१, हाल खाल्सा छिन्ताङ्ग छिन्ताङ्ग शहिद भुमि गाउँ कार्यपालिका वडा नं.७ वस्ने वर्ष २६ डगेन्द्र राईको कानवाट रगत वगेको र कुमको पाता जलेको छ । त्यसैगरी चट्याङ्गले राईका श्रीमती वर्ष २५ कि मन्दिरा राईको शरिर पुरै डढेको, छोरा वर्ष २ का अभिषेक राईको कानको जालो फुटेको र कपाल पुरै जलेको छ । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले वताएको छ । त्यसैगरी साविक छिन्ताङ्ग–१ हाल खाल्सा छिन्ताङ्ग शहिद भुमी गाउँपालिका वडा नं.९ रातमाटे घर भएका वर्ष १९ कि निरा राईलाई आफ्नै घरमा वसेर कोक्रोमा नानी हल्लाउँदा हल्लाउँदै मंगलवार विहान परेको हावाहुरीसंगैको चट्याङ्गले लागेर छातीमा गम्भिर चोट लागेको स्थानिय कृष्ण वहादुर तामाङले ब्लाष्टलाई वताएका छन् । घाईते राईको स्थानिय स्वास्थ्य चौकीमा उपचार नभएपछि थप उपचारको लागी जिल्ला सदरमुकाम साँझ ल्याउने तयारी भएको तामाङले वताएका छन् । त्यसैगरी इलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत प्र.का.स. पासाङ्ग दोर्जे शेर्पा मंगलवार दिउँसो परेको चट्याङ्गले लागेर घाईते भएका छन् । उनको शरिरको विभिन्न भाग चट्याङ्गले लागेर डडेको छ । शेर्पा चट्याङ्ग पर्दा मेषमा काम गरिहेका थिए । त्यसैगरी जिल्ला प्रहरी कार्यालयले दिएको अर्को जानकारी अनुसार चौविसे गाउँपालिका वडा नं.३ कुरुलेतेनुपा वन्दुके डाँडा घर भएका गंगावहादुर लिम्वुको हलको एउटा गोरु मंगलवार दिउँसो परेको छट्याङ्गले लागेर मृत्यु भएको छ । चट्याङ्गको कारण सोही वडा वस्ने वर्ष ५२ का भक्ति कुमारी लिम्वु, वर्ष २० का दलवहादुर लिम्वु, वर्ष २२ का राधिका भण्डारी घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानिय स्वास्थ्य चोकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।