धरान/प्रकृति पूजक किरात समुदायको उभौली बुधबारबाट विधिवत रुपमा सुरु भएको छ । बैसाख पूर्णिमादेखि कृष्ण शुक्ल पक्षसम्म १५ दिनसम्म धुमधामका साथ उभौली मनाउने गरिएको छ । प्रकृति पूजक चार समुदाय राई, लिम्बू, याक्खा र सुनुवार जातिले आ–आफ्नो कुल पूजा गर्दै उभौलीको सुरुवात गर्ने गरेका छन् । धरानमा किरात राई यायोक्खा शाखा कार्यसमिति, किरात याक्थुम चुक्लुङ सुनसरीले विधिवत रुपमा धरान–१४ विजयपुर क्षेत्र बुद्धिकर्ण राईको दरबार क्षेत्रमा पूजाआजा गरी उभौलीको सुरुवात गरे । राईहरुको विजुवाले पूजाआजा गर्दै दरबार क्षेत्रबाट उभौलीको प्रारम्भ गरे । साकेला नाँच्दै उभौलीको प्रारम्भ गरियो । त्यस्तै किरात याक्थुम चुम्लुङले पनि दरबार क्षेत्रबाट उभौलीको प्रारम्भ गरेका छन् । किराँत समुदायले बाली लगाइने समयमा अन्नबाली सप्रियोस भन्दै उभौलीको सुरुवात गर्ने गरेका छन् । प्रकृतिलाई खुसी पार्नको लागि एकै स्थानमा भेला भई नाँचगान साकेला सिली नाँच्दै रमाइलो गर्ने गरेका छन् । किरात राई यायोक्खा सुनसरीले सुनसरीका विभिन्न प्रकासले जेठको १४ गतेसम्म उभौली मनाउने निर्णय गरिसकेको छ । उभौलीको समापन प्राकासहरुबीच सोकला शिली प्रतियोगिता गराउँदै समापन गर्ने चलन रहेको छ । धरान–१७ को सप्तरंगी पार्कमा उभौलीको विधिवत समापन हुने गरेको छ । उभौलीको अवसरमा प्राकास धरान १४ नम्बर वडाले बुढासुब्बा मन्दिरमा साकेला नाँचेको थियो । त्यस्तै प्रकास धरान–१३ ले पनि अमर हाटमा उभौलीको विशेष कार्यक्रम आयोजना गरेको थियो । जसको उद्घाटन यायोक्खाका केन्द्रीयप अध्यक्ष तिलक राईले गरे । उनले उभौली किराती समुदायको विशेष पर्व भएकाले यसलाई सबैले विशेष रुपमा मनाउनु पर्ने बताए । प्राकास धरान–१३ का अध्यक्ष मौलाधन राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका यायोक्खाका केन्द्रीय अध्यक्ष राईले साकेला नाँच्दै उभौलीको स्वागत गरे । विशेष गरी पूर्वको भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सुनसरी, मोरङसँगै काठमाडौं, ललितपुरमा पनि उभौली मनाउने गरिएको छ । पछिल्लो समय देशविदेशमा पनि उभौली मनाउने चलन रहेको छ । घेरा बनाएर नाचिने साकेलामा के बुढापाका, के तन्नेरी, के बच्चा सबै नै सहभागी हुने गरेका छन् । तस्बिरः उपेन्द्र चाम्लिङ