इटहरी/क्रिकेट खेली रहेका साथीहरु बीच चौका र छक्काको विवाद हुँदा मोरङमा एक युवकले ज्यानै गुमाउनु परेको छ ।
सोमबार दिउँसो मोरङको सुन्दर हरैचा–४ बाँसबारीमा साथी साथी मिलेर क्रिकेट खेलिरहँदा चौका हो कि छक्का हो भन्ने विवाद भयो । विवादकै कारण स्थानीय रोसन दाहालले साथी सचिनकुमार राईलाई व्याटले टाउकोमा प्रहार गरे । ‘हुने हार दैव नटार’ भन्ने नेपाली उखान झै त्यही व्याटको प्रहारबाट सचिनकुमार राईको मृत्यू भयो भने रोसन प्रहरी फन्दामा परे । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालका अनुसार सोमबार दिउँसो २ बजेतिर सो घटना भएको हो । साथीहरुले सामान्य सम्झी १९ वर्षीया राईलाई उपचारको लागि इटहरीस्थित सामुदायिक अस्पतालमा ल्याए । यहाँ उपचार सम्भव नहुने बताइए पछि बल्ल उनीहरुले अभिभावकलाई खवर गरे । त्यस पछि मात्रै प्रहरीले घटना बारे थाहा पायो ।
थप उपचारको लागि उनलाई धरान लगियो । प्रहरीका अनुसार त्यहाँ आइसीयू खाली नभए पछि विराटनर न्यूरो हस्पिटल लगियो । तर, उनको ज्यान बचाउन सकिएन । बाँसबारीमा अरु बेला पनि साथीहरु मिलर क्रिकेट खेल्ने गरेका थिए । सोही क्रम सोमबार पनि उनीहरु भेला भएका थिए । सामन्य विवाद हुँदा ख्याल ख्यालमै व्याट प्रहारबाट टाउकाको सम्वेदनशिल भागमा लागे पछि राईको मृत्यु भएको वेलवारी प्रहरीले जनाएको छ । ‘बेलैमा जानकारी गराएको भए बचाउन सक्ने झिनो आशा थियो’ प्रहरी निरिक्षक कटुवालले भने ‘ सामान्य सम्झी उपचार गराउने हुँदा ज्यान नै गयो ।’