-
Home
-
अर्थ
-
सहमति भाँडिएपछि दशकपछि मोरङ व्यापार संघमा मतदान हुँदै
सहमति भाँडिएपछि दशकपछि मोरङ व्यापार संघमा मतदान हुँदै
- वैशाख २३, २०७४
- ब्लाष्ट खबर
विराटनगर/राउतको विरुद्धमा गठबन्धन तर विराटनगर(ब्लाष्ट)नेपालको सबै भन्दा पुरानो उद्योग वाणिज्य संघको रुपमा परिचित मोरङ व्यापार संघमा नयाँ नेतृत्वका लागि आइतवार निर्वाचन हुने भएको छ । सहमतिमा नेतृत्व चयन गर्दै आएको संघमा एक दशक पछाडी निर्वाचनबाट नेतृत्व छान्नु पर्ने अवस्था आएको हो । सहमति अनुसार उद्योगी राजेन्द्र राउत वरिष्ठ उपाध्यक्षबाट स्वत अध्यक्ष बन्ने अवस्था आएपछि तयार भएको गुटबन्दीले संघ विभाजित भई निर्वाचनको वाध्यत्मक अवस्थामा आइपुगेको हो ।
वरिष्ठ उपाध्यक्ष राउतलाई अध्यक्ष बनाउने भनि दुई महिना अघि पूर्व अध्यक्षहरुसमेतको सहभागितामा भएको सहमति केही पूर्व अध्यक्षहरुकै चलखेलका कारण अवज्ञा भएको थियो । राउत बाहेक अर्को कोही पनि व्यक्ति खुलेर अध्यक्षको दावी गर्न नआएपनि माडवारी समुदायका केही व्यवसायिहरुमा पलाएका साम्प्रदायिक सोचका कारण राउतलाई कुनै हालतमा पनि अध्यक्ष बनाउन नदिने अभियान चलाइरहेका छन् । जसले गर्दा राउतको विकल्पमा अर्को उमेदवार तयार नगरी उनीहरु चुनावबाटै छिनोफानो गर्ने अवस्थमा आइपुगेका हुन् ।
संयोग नै मान्नुपर्छ पूर्व अध्यक्ष जिवन नेपाल अध्यक्ष बन्ने बेलामा दश वर्ष अघि यस्तै अवस्था आएको थियो । माडवारी समुदायका तात्कालिन हस्तीहरु नेपाललाई पनि अध्यक्ष बनाउन तयार थिएनन् । उनीहरु संघमा सदावहार माडवारी समुदायकै बर्चश्व चाहान्थे तर त्यस विपरित परिणाम आएको थियो र नेपाल अध्यक्ष बनेका थिए । आज दश वर्ष पछि संघको नेतृत्व दावी गर्ने स्थानमा एउटा सक्षम, कर्मशिल, कुशल नेतृत्व भएका व्यक्ति राउत अध्यक्ष पदको दावी गर्ने अवस्थामा आइपुग्दा पुनः त्यही तत्वहरु सलबलाएका एक उद्योगीले बताए ।
यो अवस्था आउँदा नेपाल भने राउतको विपक्षमा देखिएका छन् । यो पटक पनि राउतलाई रोक्न प्रोक्सी मत संकलन गर्ने, किर्ते गर्ने देखि धेरै कामहरु भएको तर सफल नहुने उनको दावी छ । यस पटक राउतलाई पछाडी पारिएको खण्डमा संघमा अरु १५ वर्षसम्म माडवारी इतर समुदायका व्यक्ति संघको नेतृत्वमा पुग्ने सम्भावना पुरै सकिने छ । अहिले महासचिव माडवारी समुदायका व्यापारीहरुले काखि च्यापेका काग्रेंस निकटका नविन रिजाल यसैपटक उनीहरुको कोपभाजनमा पर्ने सम्भावना देखिएको छ ।
कार्यसमितिका १९ जना सदस्य संघका १ हजार ७ सय ४८ जना सदस्यहरुको मतबाट निर्वाचित हुनेछन् । त्यस मध्ये उद्योग तर्फ ६ सय ४४ सदस्य छन् भने वाणिज्य तर्फ एक हजार ९२ सदस्य छन् । वस्तुगत तर्फ १० जना संघका सदस्य रहेका छन् । कार्यसमितिमा वाणिज्यबाट ८ जना, उद्योगबाट ८ जना र वस्तुगतबाट २ जना निर्वाचित हुनेछन् । शाखाहरुबाट पछि एक जना मनोनित गरिने छ । निर्वाचनको अन्तिम घडी आइपुग्दा उद्योग तर्फ राउत समुहको जवरजस्त पकड देखिएको छ । राउत प्यानलले ८ जनाकालागि हुने निर्वाचनमा ७ जना मात्र उमेदवार बनाएर अर्को पक्षकालागि स्पेश खुल्ला राखेको छ । वाणिज्य तर्फपनि राउतको उत्साहजनक अवस्था रहेको र कम्तिमा पाँच जना आफ्नो पक्षबाट जित हासिल गर्ने उनीहरुको दावी छ । १० मत रहेको वस्तुगत तर्फ चार जना उमेदवार बनेका छन् ।
वरिष्ठताक्रम तथा संघको सहमतीय प्रणाली अनुरुप राउतलाई अध्यक्ष बनाउनु पर्नेमा अनावश्यक चलखेल भएको भन्दै १ सय ७० भन्दा बढी फर्मले स्वयं उपस्थित भएर मतदान गर्न पाउनु पर्ने माग गर्दै निवेदन दिएका छन् । यसबाट राउत पक्षधर हौसिएको छ । राउतलाई अध्यक्ष बन्न नदिने षड्यन्त्र भएको भन्दै प्रोक्सीको सहमति दिएकाहरु मताधिकार आफैंमा फिर्ता लिन निवेदन दिएका हुन् । संघमा आफु उपस्थित नभई अन्य कसैलाई मताधिकार हस्तान्तरण गर्न पाउने व्यवस्था छ ।
असहज अवस्थाकालागि राखिएको सो प्रावधानलाई अहिले चुनावमा अरुको मताधिकार खोसेर ठेकेदारी गर्ने चलनको रुपमा प्रयोग गरिने गरिएको छ । ठूलो धनराशी खर्च गरेर फर्महरु खोजिखोजी दर्ता गर्ने, सदस्य बनाउने र मताधिकार आफैं राख्ने विकृती अग्रज नेतृत्वले फैलाएका छन् । यस पटक महासचिव तथा कागताली पर्दा अध्यक्ष बन्नसक्ने सम्भावना रहेका उद्योगी प्रकाश मुन्दडाले सबैभन्दा बढी प्रोक्सी संकलन गरेका छन् । राजनीतिक दलका युवा संगठनलाई प्रयोग गरेर उनले अध्यक्ष बन्ने चाहानासहित त्यसको नेतृत्व गरेका हुन् । पर्दापछाडी पूर्व अध्यक्ष महेश जाजुले रिमोट चलाउने गरेका छन् ।
संघको निर्वाचन नजिक आउँदै गर्दा राउतको विपक्षमा लविङ थालेकाहरु यतिबेला पुस्तौनी दुस्मनीसमेत बिर्सिएर नजिकिएका छन् । सकेसम्म एउटै बाटोबाट पनि नहिड्ने संघ र उद्योग संगठनका ति सदस्यहरु अहिले अंकमाल गर्दै हिडेको देखेर विराटनगरका व्यवसायिहरु छक्कसमेत परेका छन् । यद्यपी चुनावले विगतका तुसहरु मेटिएर नयाँ मित्रताको ढोका खोल्नु राम्रो पक्ष भएको उनीहरु बताउँन्छन् ।
निर्वाचनमा वर्तमान अध्यक्ष तथा सभाषद पवनकुमार सारडा पनि सदस्य पदकालागि उमेदवार बनेका छन् । पुनः अध्यक्ष बन्ने आकांक्षा सहित आफ्नो राष्ट्रिय हैशियत बिर्सिएर उमेदवार बनेका सारडा बिजयी बने आफ्नो अध्यक्ष हुने दाउ धरापमा पर्ने आशंका प्रकाश मुण्दडा पक्षलाई छ । वर्तमान अध्यक्ष नै सदस्यमा निर्वाचित भए अनि राउत पक्ष कमजोर भएको अवस्थामा मुण्दडाको अध्यक्ष बन्ने सम्भावना लगभग सकिने निश्चित छ । त्यसकालागि मुण्दडा पक्षले साइड क्यलियर गर्नकै लागि सारडालाई सदस्यमै पराजित गर्ने डिजाइन तयार गरिरहेको बताइएको छ ।
राउत पक्ष भने जतिसुकै जालझेल गरेपनि परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क देखिएको छ । एक माडवारी समुदायका उद्योगीले भने ‘अहिले जे हल्ला गर्दैकछन् वास्तवमा अवस्था त्यस्तो छैन आफ्नै समुदायको कुरा नसुनेको जस्तो देखिने, नटेरेको जस्तो देखिने भएकोले हामी चुप बसेका मात्र हौं मतदानबाट त्यसको अभिव्यक्ति दिइने छ । ’ उनले मधेशको राजनीति गरेका नेताहरु संघमा पनि त्यही दृष्टिकोण र बिचार बोकेर सम्प्रदायिक भावना फैलाउने काम गरिरहेकाले त्यसलाई टुलुटुलु हेरेर कसैमाथि अन्याय गर्ने पक्षमा नरहेको बताए ।