धरान  । सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरु नै असुरक्षित हुन थालेपछि आम सर्वसाधारणको अवस्था झन् के होला ? यस्तै भएको छ धरानमा  । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान हीरा बरालमाथि नै आक्रमण भएको हो । इलाका प्रहरी कार्यालय मातहतमा रहेको प्रहरी बिटभन्दा २० मिटरको दूरीमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूलगेटअगाडि ट्राफिक चेकिङका क्रममा रहेका प्रहरी जवान बरालमाथि आक्रमण भएको हो । उनीमाथि प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्दै गरेका मोरङको विराटनगरका रोशनकुमार यादवले रडले आक्रमण गरेका हुन् । यादवले विना हेल्मेट मोटरसाइकल चलाएको र आफूले उसको सवारी चालक अनुमतिपत्र नियन्त्रण लिएर केहीबेरपछि कार्यालय फर्कन लाग्दा यादवले पछाडिबाट आएर रडले हानेको उनले बताए । चालक अनुमति–पत्र प्रहरीले नियन्त्रणमा लिएपछि प्रतिष्ठानको गेटको छेउमा बसेका उनले ट्राफिक प्रहरीमाथि चेकिङ सकेर फर्कन लाग्दा पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ । घाइते बरालको ढाडको पछाडि र दाहिने हातको पाखुरामा गहिरो चोट लागेको छ । उनी प्रतिष्ठानमा उपचारपछि कार्यालय फर्किएका छन् । इलाका प्रहरी कार्यालय नजिकै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मुख्यगेटमा ट्राफिक चेकजाँचको लागि खटिएका एक ट्राफिक प्रहरीजवानमाथि रड प्रहारसँगै धरानको सुरक्षा व्यवस्था फितलो रहेको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । त्यसो त धरानमा दैनिकजसो कुनै न कुनै आपराधिक घटना भइरहँदासमेत प्रहरी मौन झैं भएपछि स्थानीयहरुमा त्रास उत्पन्न भएको छ ।

पछिल्लो १ वर्षको अवधिमा दर्जनौं हत्या, चोरीडकैतीसँगै युवा समूहबीच झडप हुँदासमेत प्रहरीले कुनै कारबाही गर्न सकेको छैन । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले आर्थिक प्रलोभन परी प्रायः सबै घटनालाई मिलाउन र मिल्न दबाव दिने गरेको कारण धरान असुरक्षित बन्दै गएको सर्वसाधारणको आरोप छ । त्यसो त खतिवढा इप्रका प्रमुख भएर आएसँगै धरानमा आपराधिक घटनामा वृद्धि भएको हो । अपराध न्यूनीकरणभन्दा पनि आर्थिक लेनदेनका मुद्धालाई खतिवडाले प्राथमिकतामा राखेर हेर्ने गरेका छन्  । हुन त आर्थिक लेनदेनका मुद्धा प्रहरीले हेर्न या मिलाउन पाउँदैन । खतिवडा आफैले पनि आपराधिक घटना न्यूनीकरण गर्नभन्दा घटना नभई प्रहरीको काम नहुने भन्दै घटना भएपछि अपराधी पक्राउ गर्ने काम मात्र प्रहरीको हो भन्दै आएका छन् । बिहीबार पनि इलाका प्रहरी कार्यालयनजिक प्रतिष्ठानको आकस्मिक कक्षमासमेत प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी प्रहरी बिटनजिक भएर आक्रमण कारी प्रतिष्ठानभित्र भागेको थियो । प्रतिष्ठानको आकस्मिक कक्षमा प्रहरी नायव निरीक्षक तिलक गिरीको कमाण्डमा प्रहरी बिट छ तर घटनापछि हालसम्म पनि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेको छैन ।