इटहरी । सञ्चालक समितिले विभिन्न सरकारी ओहोदामा रहेकाहरुलाई पनि कार्यकारी समितिहरुमा राखेको भन्दै बेला–बेला आलोचित हुने गरेको इटहरीको महिला बचत तथा ऋण सहकारी संस्थाले व्यवस्थापक बर्खास्त गरेपछि झनै विवाद बढेर गएको छ ।
चारहजार पाँचसयभन्दा बढी महिला सदस्य भएको र तीसकरोड बढीको पूँजी भएको महिला बचत तथा ऋण सहकारी संस्थाले व्यवस्थापक यशोदा सेनेलाई ऋण प्रवाहमा तलमाथि गरेको आरोपमा विना स्पष्टीकरण बर्खास्तको पत्र थमाएपछि संस्थामा विवाद बढेर गएको हो । एमालेनिकट मानिने उक्त सहकारी संस्थाका अध्यक्ष एमालेनेतृ तथा पूर्वमेयर सर्वध्वज साँवाकी पत्नी अमृता सुब्बा रहेकी छन् ।
नियम विपरित र प्रक्रियासमेत नपु¥याई व्यवस्थापक हटाइएको भन्दै पेशागत महासंघ सुनसरीले विरोधका कार्यक्रम समेत सार्वजनिक गरेको उक्त विवादले अहिले आएर एमालेलाई नै दुईखेमामा पारेको छ । अमृता सुब्बानिकट एमाले नेताहरुले व्यवस्थापक सेनेलाई हटाउनै पर्ने माग गरेर दबाव दिइरहेका छन् भने पेशागत महासंघ र केही एमाले नेताहरु भने व्यवस्थापकले ऋण प्रवाहमा गल्ती नै गरेको भए पनि प्रक्रिया पूरा गरेर मात्रै कारबाही गर्नुपर्ने पक्षमा छन् । कर्मचारीले पाउनुपर्ने सहुलियत ऋण १३ प्रतिशतको ब्याजदरमा हुनुपर्नेमा ७ प्रतिशतमा इन्ट्री गरेको आरोप अमृता सुब्बा पक्षको छ भने सेने भने प्र्रविधिको भूलवश त्यसो हुनगएको र पछि त्यो थाहा भएपछि पुनः १३ प्रतिशतमै इन्ट्री गरेको र सोही प्रतिशतमा ऋणीहरुले तिर्दै पनि आएको बताउँछिन् । यस विषयमा भएको विवाद व्यवस्थापक बर्खास्तसम्म पुगेको छ ।
अझ रोचक कुरो त के छ भने बर्खास्तको पत्रसमेत मध्यरातमा थमाइएको छ । स्पष्टीकरणको चलानी नम्बर २८३ र बर्खास्तको चलानी नम्बर २८२ हेर्दा प्रक्रिया विना हटाएको प्रमाण भेटिने पेशागत महासंघको तर्क छ । कुनै पनि कर्मचारीलाई हटाउनुअगाडि स्पष्टीकरण सोध्ने र चित्त नबुझेमा मात्रै नियमबद्ध तवरले हटाउनु पर्नेमा ‘छापामार शैलीमा’ कर्मचारी हटाइएको भन्दै पेशागत महासंघले विरोध र आन्दोलनका कार्यक्रमै सुरु गरेको छ । १९ गते नै सहकारीलाई ज्ञापन–पत्र बुझाएको महासंघले सेनेलाई ‘विनाकारण र सुनुवाइको मौकासमेत नदिई’ बर्खास्त गरेको भन्दै विरोध गरेको छ । ‘सात दिनभित्रको समयावधिमा व्यवस्थापनको तर्फबाट उचित र न्यायिक रुपमा उक्त समस्याको समाधान नभए’ कार्यवाहक अध्यक्ष कल्पना आचार्य र सचिव मणिराज पोखरेलले हस्ताक्षर गरेको पेशागत महासंघको विज्ञप्तिमा लेखिएको छ, ‘पेशाकर्मीहरुको हकहित र अधिकारको लागि चरणबद्ध आन्दोलन गरी जुनसुकै मूल्य चुकाउन तमाम पेशाकर्मी श्रमिकहरु तयार रहेको जानकारी गराउँछौँ ।’
सहकारीको विवादले तानेको मेयर टिकट
कर्मचारी बर्खास्त सम्बन्धी सहकारीको विवादले सुनसरी एमालेलाईसमेत विभाजन गरेको छ । बुधबार र बिहीबार त एमाले इटहरी र एमाले सुनसरी क्षेत्र नम्बर दुईकोसमेत फरक–फरक मिटिङ बसेको छ । एमालेनिकट संस्थामा एमालेनेतृद्वारा एमालेमै आस्था राख्ने कर्मचारीको जबरजस्ती बर्खास्तले पनि यो विषयले एमालेलाई छोएको बताउँछन् नाम नछाप्ने सर्तमा एमाले इटहरीका एक प्रभावशाली नेता । एमालेनिकटकै कर्मचारी संगठन नै बर्खास्तीको विरोधमा लागेकोले यो विषय झनै पेचिलो बन्दै गएको उनको तर्क छ । एमाले इटहरीबाट पूर्वमेयर भइसकेका र यो पटकको मेयरका लागि समेत दाबी गरिरहेका साँवाकी श्रीमती अध्यक्ष भएको कारणलेभन्दा पनि यो विवादमा साँवा भाग्न खोजेको भन्दै विषयले गम्भीर मोड लिएको बताउँछन् एमाले सुनसरीका एक नेता । ‘यो त्यस्तो गम्भीर विषय नै हैन, जसमा यस्तो सहर थर्कमान हुनुपर्ने कारण नै छैन, मात्रै साँवा आफूले नेतृत्व लिएर एउटा निचोड दिएमा सबै समाधान हुन्थ्यो’ एमाले इटहरीका एक नेता भन्छन्, ‘जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र एमाले इटहरी इञ्चार्ज रामप्रसाद चौलागाईंले समेत पटक–पटक ताकेता गर्दा पनि साँवा सम्पर्कमै आउन चाहनुहुन्न र धेरै पार्टी नेताले शंकाको दृष्टिले हेरेका छन् ।’ एमालेबाट मेयरमा दाबी गर्नेहरुमा अग्रणी मानिएका साँवाको टिकट यो सहकारी विवादले धरापमा पारेको बताउँछन् मेयरमै प्रस्ताव गरिएको इटहरीका एक एमाले नेता । पार्टीको कारण देखाउँदै नाम नछाप्ने सर्तमा बोलेका उनी भन्छन्, ‘आफै पूर्वसल्लाहकार भएको र श्रीमती भएको सहकारी विवाद त मिलाउन नसक्ने उहाँले कसरी इटहरीका तमाम विवाद र विषयहरु बोक्न सक्नुहुन्छ ?’ एमाले स्रोतका अनुसार सहकारी विवाद तार्किक र न्यायसंगत समाधान नभएमा मेयरको रेसमा अगाडि रहेका ओलीनिकट मानिने साँवाभन्दा ओली समूहकै सुनसरी एमाले अध्यक्ष द्वारिकलाल चौधरी वा एमाले इटहरी इञ्चार्ज रामप्रसाद चौंलागाईले टिकट हत्याउन सक्ने एमाले सुनसरीका एक नेता बताउँर्छन् । फोनमा गफिएका माधव नेपाल पक्षका राम्रो केन्द्रीय सङ्गत भएका ती नेता भन्छन्, ‘साँवा, चौधरी र चौंलागाई कमरेडहरुको उस्तै–उस्तै चर्चा थियो अब साँवा कमरेडको यस्तो विवाद आएपछि उहाँलाई गाह्रो छ पार्टी विभाजन भएकोले तत्काललाई विवादमा नपरेकोलाई टिकट दिने तर्क आउँदा चौधरी वा चौंलागाईंले नै मेयरको टिकट पाउने देखिन्छ ।’