काठमाडौं । विमलेन्द्र निधिले आइतबार उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएपछि अब कसलाई गृहमन्त्रीमा पठाउने भन्नेमा कांग्रेसभित्र विवाद सुरु हुन थालेको छ ।
केही समयअघि नै निधिलाई हटाएर कृष्णप्रसाद सिटौलालाई गृहमन्त्री बनाउने हल्ला बाहिर आएपनि त्यसबारे छलफल गर्न कांग्रेस बैठक बस्दैछ ।
कांग्रेसभित्र अब गृहमन्त्रीमा सिटौला र नेता प्रकाशमा सिंहको नाम चर्चामा रहेको छ । त्यस्तै गोपालमान श्रेष्ठको पनि नाम चर्चामा रहेको कांग्रेसका एक नेताले बताए ।
आन्तरिक छलफलमा व्यस कांग्रैसले सोमबार नै गृहमन्त्रीको नाम सिफारिस गर्ने बताइएको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवासँग मनमुटाव भएपछि निधिले पहिला नै देउवालाई पदबाट राजीनामा दिने चेतावनी दिएका थिए । पछि देउवाको आग्रहमा निधि राजीनामा दिनबाट पछि हटेका हुन् ।
तर, आइतबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २५९ जना सांसदले प्रधानन्यायधीश सुशीला कार्कीमाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि निधि असन्तुष्ट बनेका थिए ।