काठमाडौं, १४ वैशाख । नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन् । वैशाख १० गते मधेसी मोर्चा र सरकारबीचको सम्झौताअनुसार संविधान संशोधन भए भारतीयले समेत स्थानीय चुनावमा मतदान गर्न पाउने भारतीय मिडियाले लेखेका छन् । सिएनएन न्युज १८ को अनलाइनका अनुसार भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले समेत नेपालमा मतदान गर्न पाउने जनाएको हो । शुक्रबारयताका मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनका दैनिकजसो बैठक भइरहेको सन्दर्भमा भारतीय मिडियाले भने यस्तो खबर प्रकाशन गरिरहेको छ । सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो अनलाइनले उल्लेख गरेको छ । संविधान संशोधनले भारतीय नागरिक संसदीय निर्वाचनमा पनि सहभागी हुन बाटो खोल्ने सो बताइएको छ । मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको सिएनएन न्युज १८ डट कमले उल्लेख गरेको हो । यो विषय नेपालको क्याबिनेटबाट पारित भइसकेको उसले दाबी समेत गरेको छ ।