विराटनगर/वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकामा मेयर र उपमेयर सहित १६ वटा वडाका उम्मेदवारको टुंगो लगाएको छ । पार्टी कार्यालय तीन पैनीमा शनिबार आयोजित उम्मेद्वार घोषणा कार्यक्रममा १६ वटा वडाका अध्यक्ष तथा सदस्यहरुको नाम सार्वजनिक गरेको हो । अन्य ३ वटा वडाको पनि आईतारसम्ममा उम्मेदवारको टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ । यसअघि नै माओवादी केन्द्रले मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेको टुंगो लगाइसकेको थियो । विराटनगर उपमहानगरपालिकाका इन्चार्ज यादव महेन्द्र मोरङ क्याम्पसको विद्यार्थी राजनीतिदेखि नै कम्युनिष्ट पार्टीमा आवद्ध हुन । तत्कालिन एकताकेन्द्र मसालबाट पहिलो संविधानसभा निर्वाचन पछि एकता प्रक्रियामा आउनु भएका यादव इमान्दार नेताको रुपमा परिचित छन् । यस्तै उपमेयरकी उम्मेद्वार नमिता न्यौपाने पोखरेल शान्ति प्रक्रियासँगसँगै माओवादीको राजनीतिमा समाहित हुन । संघर्षशील र जुझारु महिला नेतृ भएकै कारण यसअघि देखि नै उनी लोकप्रिय नेतृको रुपमा स्थापित छन् । माओवादी केन्द्रले विराटनगरको ४, १०, १४ र १५ नम्बर वडाको उम्मेदवारी टुंग्याउन बाँकी रहेको छ । कार्यक्रमको घोषणासभामा बोल्दै नगरका मेयर भोगेन्द्र यादवले समग्र राजनीतिक आन्दोलनको अगुवाई माओवादीले गर्दै आएको कारण जित पनि माओवादीकै हुने दाबी गरे । आफूहरुलाई हार्ने छुट नभएको भन्दै यादवले पार्टी एकताबद्ध भए जित सुनिश्चित हुने बताए । उपमेयरकी उम्मेद्वार नमिता न्यौपानेले विराटनगरमा परम्परादेखि जमाउँदै आएका भनिएका पुराना पार्टीलाई यस पटक धक्का दिने बताउनु बताए । उनले भनिन, ‘सुकुम्बासी, दलित, महिला, आदिवासी जनजाति, मधेशी लगायत उत्पीडित समुदायको साथ हामीलाई छ ।’