विराटनगर /विकासमा कुनै राजनीति र अवरोध भएन भने अबको केही वर्षभित्रमा विराटनगरसँगै सीमा जोडिएको कटहरीसम्म रेल गुडेको हेर्न पाइन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अहिले भारतको बथनाहदेखि कटहरीसम्म रेल सञ्चालन गर्न नेपाल–भारत रेल्वे आयोजनाले काम थालेको छ ।
३ वर्षअघिसम्म निर्माण कार्यको जिम्मा लिएकोमा बथनाह–कटहरी रेल सञ्चालन गर्न भारतको तालिया कन्ट्रक्सन प्रालिले नेपालतर्फ धमाधम रेल्वेको ट्र्याक बनाउने काम गरे पनि काम पूरा नगरी भागेको हुनाले रेल्वे सेवाको निर्माण कार्य नै नहुने हो कि भन्ने अशंका उब्जिएको थियो ।
तर, निर्माण कार्य नै अवरोध हुन पुगेपछि भारत सरकारद्वारा परिचालित मूल ठेकेदार कम्पनी इरकोन कम्पनीले पुनः सन् २०१५ मा बाग्मती कन्ट्रक्सनलाई ठेक्का दिएर नियमित निर्माण कार्य हुँदै आएको छ ।
तस्बिरमा देखिएको मोरङको बुधनगरस्थित भेडियारीमा निर्माण भइरहेको रेल्वे मार्ग हो । अहिले त्यस क्षेत्रमा धमाधम निर्माण कार्य भइरहेको छ । यो मार्ग सिधै भारतको बथनाहदेखि कटहरीसम्म जोडिन्छ ।
त्यसनिम्ति भारततर्फ पनि धमाधम काम भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि तथा लेखापाल सन्जिव देवले बताएका छन् । रेल्वे सडक निर्माणनिम्चि भारततर्फका विभिन्न खोला–खोल्सामा पुल निर्माण कार्यसमेत सम्पन्न भइसकेको छ ।
अहिले भारततर्फको सडकमध्ये अधिकांश रेल मार्गका सडक निर्माण कार्य सम्पन्न भइसकेको र प्लेटफर्मलगायत निर्माण कार्य बाँकी रहेको साहले बताए । उनले भारततर्फको रेल्वे मार्गमा पर्ने स्थानीयका केही घर हटाउनुपर्ने भएकाले भारत सरकारले त्यसको पहल गर्ने दाबी गरे ।
भारतको बथनाहदेखि कटहरीसम्म सो रेल्वे मार्ग १८ किलोमिटर रहेकोमा नेपालतर्फको १३.१ किलोमिटर सडकका लागि रेल्वेको ट्र्याक बनाउने काम भइरहेको रेल्वे मार्ग निर्माण आयोजनाले जनाएको छ ।