नेकपा एमाले मोरङले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयन गर्ने क्रमलाई तिव्रता दिएको छ । एमाले मोरङको शुक्रबार बसेको बैठकले  मोरङका ५ वटा गाउँपालिकामा सर्वसहमतिमा उम्मेदवार चयन गरेको हो । एमालेले मोरङको केराबारी गाउँपालिकाको प्रमुखमा नवीन थापामगर र उपप्रमुखमा शान्ति लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । यस्तै कटहरी गाऊँपालिकाको प्रमुखमा मुक्ति राजवंशी, उपप्रमुखमा सुमनकुमारी सरदार, जहदा गाऊँपालिकाको प्रमुखमा त्रिभुवन राजवंशी र उपप्रमुखमा राजवतीदेवी राजवंशी, धनपालथान गाऊँपालिकाको प्रमुखमा मुशहरु मण्डल र उपप्रमुखमा उपासी राजवंशी, ग्रामथान गाऊँपालिकाको प्रमुखमा शिवनारायण माझी र उपप्रमुखमा गुणवतीदेवी धामीलाई उम्मेदवार बनाउने भएको छ । मोरङका अन्य गाऊँपालिका र नगरपालिकाहरुमा समेत शनिबार साँझसम्ममा उम्मेदवारको टुगो लागिसक्ने नेकपा एमाले मोरङका सचिव ऋषिकेश पोखरेलले जानकारी दिए । उहाँका अनुसार उम्मेदवार छनौट गर्न हरेक निर्वाचन क्षेत्रमा सम्बन्धित निर्वाचन क्षेत्रका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष तथा नगरपालिकाका संयोजक र सहसंयोजक रहेको समित गठन गरिएको छ । विराटनगरमा विनोद ढकाल यता प्रदेश नम्बर १ को सबै भन्दा ठूलो सहर विराटनगर उपमहानगरपलिकाको मेयरमा भने एमालेले वर्तमान जिल्ला अध्यक्ष विनोद ढकाललाई उम्मेदवार बनाउने निश्चित प्राय भएको छ । शुक्रबारदेखि नै भएका विभिन्न चरणका छलफलहरुमा ढकाललाई नै उम्मेदवार बनाउने निश्कर्षमा पुगिएको एमाले मोरङका सचिव ऋषिकेश पोखरेलले जानकारी दिए । यसअघि विराटनगरको मेयरमा एमालेले १२ जनाको नाम सिफारिस गरेको भनिएपनि ढकाललाई नै उम्मेदवार बनाउने निश्चत प्राय भएको पोखरेलले बताए । विराटनरको मेयरका लागि मोरङ अध्यक्ष विनोद ढकाल, निवर्तमान जिल्ला अध्यक्ष महेश रेग्मी, जिल्ला उपाध्यक्ष रामलाल साह, नगर इन्चार्ज सागर थापा, संगठन विभाग प्रमुख बाबुराम कार्की, विराटनगर उपमहानगरपालिकाका पूर्व कर्मचारी तारा निरौला, वर्तमान कर्मचारीहरु खेम नेपाली, नन्दिकेशर भण्डारी, सहकारी बैंकका केन्द्रीय अध्यक्ष रमेश पोखरेल, युवा संघका सचिव पर्शुराम बस्नेत, अनेरास्ववियुका सचिव वसिम आलम र कानून व्यवसायी चुडामणी आचार्यको नाम चर्चामा आएको थियो । यता विराटनगरको उपमेयरमा भने विमला घिमिरे र सावित्रा रेग्मीको नामा आएकाले सहमति जुट्न बाँकी रहेको सचिव पोखरेलले जानकारी दिए ।