धरान/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध ६ मधेसी दलबीच एकता भएको दोस्रो दिनमै राष्ट्रिय जनता पार्टी पर्सामा नेतृत्वको विषयलाई लिएर चर्को विवाद सुरु भएको छ।
वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय प्रवक्ता विमल श्रीवास्तवले नवगठित राष्ट्रिय जनता पार्टीको केन्द्रीय प्रवक्ता आफू र पर्सा संयोजक तत्कालीन तमलोपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झा चयन भएको घोषणा गरे लगत्तै नेतृत्वको विषयलाई लिएर राष्ट्रिय जनता पार्टी भित्र विवाद सुरु भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
श्रीवास्तवलाई केन्द्रीय प्रवक्ता र झालाई राष्ट्रिय जनता पार्टीको पर्साको संयोजक तोकिएको पत्रकार सम्मेलन मार्फत् घोषणा गरिए लगत्तै राष्ट्रिय जनता पार्टीमा आबद्ध तत्कालीन अन्य पाँच मधेसी दलका जिल्ला अध्यक्षले त्यसको विरोध गरेका छन्।
तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा अध्यक्ष प्रेमबाबु पटेलले नवगठित राष्ट्रिय जनता पार्टीले केन्द्रीय प्रवक्ता र पर्सा संयोजकमा अहिलेसम्म कसैलाई जिम्मेवारी नदिएको बताउनु भयो।
‘हिजो बल्ल केन्द्रमा पार्टीबीच एकता भएको छ, शुक्रबार साँझ पटेलले भन्नुभयो ,‘ काठमाडौंमा शीर्ष नेताहरु सरकारसँगको वार्तामा व्यस्त हुनुहुन्छ, अहिलेसम्म पार्टीले कसैलाइ कुनै पनि जिम्मेवारी तोकेको छैन, वीरगन्जमा आज जसले आफूलाई केन्द्रीय प्रवक्ता र जिल्ला संयोजक भनेर प्रचार गरेको छ त्यो पार्टीको आधिकारी निर्णय हुदै होइन र हामीलाई मान्य पनि छैन।’
यस्तै नवगठित राष्ट्रिय जनता पार्टीमा समाहित भएको तत्कालीन नेपाल सद्भावना पार्टीका महासचिव शीव पटेलले पनि शुक्रबार श्रीवास्तवले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका निर्णय र अभिव्यक्ति उनको व्याक्तिगत कुरा मात्रै भएको बताउनु भयो।