संखुवासभा / संखुवासभामा अरुण नदी थुनिदा बनेको तालबाट पानीको निकास भएकाले तत्कालका लागि जोखिमको अवस्था नरहेको स्थानीय अधिकारीले बताएका छन् । संखुवासभाको हटिया स्याक्सिलागोलामा अरुण नदी थुनिएर बनेको तालबाट पानीको निकास भएकाले तत्कालका लागि जोखिमको अवस्था नरहेको हो । अरुण नदीको बहाब अहिले सामान्य छ । नदी थुनिएर बनेको तालबाट बिस्तारै पानीको निकास भइरहेको छ । तालबाट पानीको निकास तथा अरुण नदीको बहाब सामान्य भएपनि ताल एक्कासी फुटेमा तल्लो तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरिएको छ । यसको प्रभाव पर्न सक्ने भन्दै कोशी नदी आसपासको क्षेत्रका बासिन्दालाई पनि सचेत गराइएको तर अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन तर नआत्तिन आग्रह गरिएको उनको भनाई छ ।