काठमाडौं/ एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा नेताले बुढा नेतालाई राजनीतिक रेसमा जित्नुपर्ने बताए। शुक्रबार बिहान बालकोट पुगेका पिपुल्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित पदाधिकारीसँगको भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताए ।

‘राजनीतक दौडमा बुढा नेता छन्’, विद्यार्थी नेतासँग ओलीले भने , ‘तपाईंहरु जस्ता युवाले बुढालाई गाली गरेर होइन दौडिएर राजनीतिक रुपमा अगाडि बढ्न सक्नुपर्छ ।’ ओलीले विद्यार्थी नेतालाई राजनीति भन्दा पनि अध्ययन र अनुशासनलाई प्राथमिकतामा राख्न समेत सुझाव दिनुभएको छ । ‘विद्यार्थीको परिचयन नै अध्ययन र अनुशासन हो,’ ओलीले भने, ‘त्यो सँगै राजनीतिलाई पनि अगाडि बढाउनुहोस् ।’ सँगै ओलीले लोडसेडिङ अन्त्य गर्ने योजना सबै आफ्नो सरकारको पालामा तयार भएको र अहिलेको सरकारले त्यसलाई कार्यान्वयन मात्र गरेको समेत बताए । ‘लोडसेडिङ अन्त्य गर्ने योजना सबै हाम्रो सरकारको पालामा बनेको थियो’, ओलीले भने, ‘अहिलेको सरकारले त्यसलाई कार्यान्वयन गरेर आफू नै लोडसेडिङ हटाउने फादर भएको दाबी गरिरहेको छ, त्यो गलत हो ।’