काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किदा आधा घन्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवरुद्ध हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार शुक्रबार साँझ सवा सात बजेदेखि पौने आठ बजेसम्म विमानस्थल अवरुद्ध हुनेछ । तर, आपत्तकालिन उडान भने नरोकिने ठाकुरले बताए । राष्ट्रपति भण्डारी नेपालको राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमको जहाजबाट साँझ साढे सात बजे नेपाल आइपुग्ने तालिका छ। राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निम्तोमा सोमबार भारत भ्रमणमा गएका थिए । भ्रमणका क्रममा भण्डारीलाई भारतमा राजकीय सम्मानसहित स्वागत गरेको थियो। राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।