भारत/ भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज भ्रमण सम्पन्न गरी स्वदेश फर्कदैँ छिन् ।
भारतीय समकक्षी राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा यही वैशाख ४ गते मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा गएकी राष्ट्रपति भण्डारीले आफ्नो पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्कन लागेकी हुन् ।
भारतमा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा आफ्ना समकक्षी मुखर्जीसँग भेटवार्ता गरिन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीलगायत यहाँस्थित विभिन्न पार्टीका नेताहरुले राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका थिए ।
भ्रमणको दोस्रो दिन राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामीसहित भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । सोही साँझ राष्ट्रपतिको सम्मानमा भारतीय समकक्षी मुखर्जीले राष्ट्रपति भवनमा रात्रिभोजको समेत आयोजना गरेका थिए ।
राष्ट्रपति भण्डारी भ्रमणको तेस्रो दिन इन्डियन एयरलाइन्सको विशेष विमानबाट गुजरात राज्यको राजकोट विमानस्थल पुगिन् । त्यहाँबाट भारतीय वायु सेनाको हेलिकप्टरबाट सोमनाथ र द्वारिकानाथ मन्दिर पुगेर दर्शन र पूजाआजा गरिन् । सोही साँझ राजकोटमा गुजरातका मुख्यमन्त्रीले राष्ट्रपति भण्डारीले आयोजना गरेका रात्रिभोजमा सहभागी भइन् ।
राष्ट्रपति भण्डारी भ्रमणको चौथोदिन बिहीबार भारतको मुख्य पर्यटकीय सहर उडिसाको राजधानी भुवनेश्वरमा विभिन्न कार्यक्रममा सहभागी भइन् ।
उनले यहाँस्थित उडिसा राज्य सरकारद्वारा सञ्चालित मिसन शक्ति नामको एक संस्थाले आयोजना गरेको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गरिन् । साथै उनले लिङ्गेश्वरराज मन्दिरमा पुगेर पूजाआजा गरिन् ।
भारत भ्रमणको अन्तिम दिन राष्ट्रपति भण्डारी आज उडिसा राज्यको पुरीमा रहेको जगन्नाथ धाममा पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
उक्त धामको दर्शनपश्चात् राष्ट्रपति भण्डारी यहाँस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली पुगेर त्यहाँबाट नेपाल एयरलाइन्सको विमानबाट बेलुका स्वदेश फर्कने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीको भ्रमणमा समेत रहेर भ्रमणलाई सफल पार्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राष्ट्रपतिको यो भ्रमणले नेपालका लागि ठूलो अवसर भएको बताए । उनले राष्ट्रपतिको यो भ्रमणमा भारत सरकारले उच्च प्राथमिकताका साथ राजकीय सम्मान प्रदान गरेकाले पनि यो भ्रमण पूर्णरुपले सफल भएको बताए ।
राजदूत उपाध्यायले राष्ट्रपति संविधानको रक्षक भएकाले भारतीय उच्च नेतृत्व तहमा सबै भेटमा आफ्नो भूमिकालाई अत्यन्तै मर्यादित र स्पष्ट रुपले राखेको बताए ।