काठमाडौं । मधेसी मोर्चामा आवद्ध ६ दलले पार्टी एकता गर्दै राष्ट्रिय जनता पार्टी गठनको घोषणा गरे ।
तर, एक महिना अघि निर्वाचन आयोगमा ‘राष्ट्रिय जनता पार्टी’ दर्ता भइसकेको पाइएको छ । निर्वाचन आयोगले चैत २ गते नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको दल दर्ता गरेको छ ।
अब यही अवस्थामा मधेसी मोर्चाका छ दलले राष्ट्रिय जनता पार्टी नाम पाउने छैनन् ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष लिम्बुले मधेसी मोर्चामा आवद्ध दलहरुको पार्टी घोषणा भएपछि आफूहरुले आयोगमा चासो राखेको सुनाए । उनले भने, ‘यो नाम हाम्रै हुन्छ । उहाँहरुले अगाडि पछाडि केही थप्नु सक्नुहुन्छ भन्ने कुरा आएको छ ।’
लिम्बु कुनै समय फोरम गणतान्त्रिकमा आवद्ध थिए । समानुपातिकको सूचीमा पनि परेका थिए । तर, पछिल्लो समय उनले छुट्टै दल दर्ता गरेका रहेछन् ।
लिम्बु नेतृत्वको राष्ट्रिय जनता पार्टीले तराई मधेसका केही जिल्लामा संगठन समेत विस्तार गरेको छ ।
लिम्बुले भने, एउटै पार्टी बनाऔं भन्ने प्रस्ताव आयो भने समायोजनमा जान सकिन्छ । तर, अहिले कुनै प्रस्ताव पनि आएको छैन र हामीले छलफल पनि गरेका छैनौं ।’