शनिश्चरे, (मोरङ) / स्थानीय निकाय निर्वाचनको विरोधमा उत्रिएको संघीय गठबन्धनले विहीबार झापाको दमकमा निकालेको लाठी जुलुसलाई नियन्त्रण गर्न प्रहरी असफल भएको छ ।

गठबन्धन अन्तर्गतका संघीय समाजबादी फोरम , संघीय लिम्वूवान राष्ट्यि मञ्च, संघीय लिम्वूवान पार्टी र लिम्वूवान मुक्ति मोर्चा समाजवादीले निकालेको लाठी जुलुसमा लाठी नियन्त्रणामा लिन प्रहरीले प्रयास गरे पनि असफल भएको हो । गठबन्धनले संघीय लिम्वूवान मञ्चका अध्यक्ष कुमार लिङ्गदेनको नेतृत्वमा दिउसो दमक चोकबाट निकालेको लाठी जुलुसको लाठी रोक्न खोजे पनि कार्यकर्ताको भीडले प्रहरीलाई तितर वितर बनाइ बजार परिक्रम गरेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय दमकका डिएपी राजन लिम्वूको टोलीले दमकको पूर्व बस स्टेण्ड छेउमा जुलुसबाट लाठी नियन्त्रणमा लिन खोजे पनि प्रहरी असफल भएको प्रत्यक्षदर्शीले जनाए ।
गठबन्धन कार्यकर्ताले नेता लिङ्गदेनलाई भने प्रहरीको घेराबाट जोगाउदै कार्यकर्ताले बाहिर निकालेका थिए । गठबन्धनको जुलुस दमक चोकको आकाशे पुल अगाडी गएर कोण सभामा परिणत भएको थियो । कोण सभामा नेता लिङ्गदेन लगायतले सरकारले घोषणा गरेको बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन लिम्बूवान र मधेस विरोधी भएको भन्दै निर्वाचनको विरोध गरेका छन् ।
विहीबार नै नेपाल कम्युनिष्ट पार्टीले पनि निर्वाचनकै विरोधमा दमकमा भण्डाफोर कार्यक्रम गरेको छ । स्थानिय तहको निर्वाचन खारेजीको माग गर्दै सो पार्टीका कार्यकर्ताले दमक चोक परिक्रम गरी गोर्खा डिपाटमेन्ट स्टोर अगाडी पुगेर कोण सभा गरेका थिए ।