बनियानी । भारतीय पिकअपको ठक्करबाट पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक सडकखण्डमा आज बेलुका एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका–१५ का ५९ वर्षीय गङ्गाबहादुर बस्नेत रहेका छन् । बस्नेतलाई दमक–९ स्थित चियापसलमा बाटो काट्ने क्रममा डब्यु बी ७३८७३८२ नम्बरको भारतीय महेन्द्रा पिकअपले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सवारीसाधन र चालक भारत सिलिगुडी मातिगडाका ५० वर्षीय गोविन्द रायलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ । चालक रायउपर सवारी ज्यान मुद्दा शीर्षकअन्तर्गत आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ । रासस