चतरा / मधेशवादी दलहरूले गरेको संविधान संशोधनको माग मधेशवादी दलहरूको नभई भारतीय एजेन्डा रहेको पूर्व नागरिक तथा उड्डयन मन्त्री भीम आचार्यले बताएका छन् । एमालेको वराह नगर कमिटीअन्तर्गत वडा नं १ र २ का शाखा कमिटीका अगुवा कार्यकर्ता भेलामा प्रमुख अतिथि आचार्यले काङ्ग्रेस र माओवादीको ढुलमुले प्रवृत्तिले गर्दा अहिलेको सरकार पङ्गु बनेको बताए । उनले भने, ‘मनोमानी ढङ्गले प्रक्रिया विपरीत मन्त्रीहरू नियुक्त गर्ने प्रवृत्तिले पनि अहिलेको सरकार पङ्गु बनेको छ ।’ राज्यका समस्याहरू अशिक्षा, गरीबी, छुवाछूत, सामाजिक विसङ्गतिजस्ता तमाम चीजहरू फाल्नुपर्ने उनको भनाइ थियो । ‘जसको नीति छ, त्यसैले नेतृत्व गर्नुपर्छ’, नेता आचार्यले भने, ‘त्यो नीति हामीसँग छ । यसर्थ अब एमालेले नेतृत्व गर्नुपर्छ ।’ सभाका वक्ताहरूले संविधानसभा निर्वाचनअघि यस क्षेत्रमा काङ्ग्रेसको नेतृत्व हुँदा विकासका नाममा कुनै काम हुन नसकेको चर्चा गर्दै एमालेले नेतृत्व गरेपछि मात्र यहाँ विकासका ढोका खोलिएको दावी गरेका थिए । भेलाको अवसरमा काङ्ग्रेसका १५ जना, माओवादी केन्द्रका तीन, राप्रपाका दुई र स्वतन्त्र पाँच गरी २५ जनाले एमालेमा प्रवेश गरेका थिए । प्रमुख अतिथि आचार्यले अबिर लगाएर नवप्रवेशीलाई स्वागत गरेका थिए । सो अवसरमा कलाकर्मी बद्री दाहाललाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रम सचिवालय सचिव मनोज पौडेलको अध्यक्षतामा भएको थियो ।