धरान । नेकपा (एमाले)का नेता झलनाथ खनालले सहिद रत्नकुमार बान्तवाको सम्मानका लागि पार्टीका तर्फबाट धेरै काम भइरहेको बताएका छन् । रत्नलाई एमालेले बिर्सियो भन्ने सुनेको चर्चा गर्दै नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
एमाले इलाम–काठमाडौं सम्पर्क मञ्चले रत्नको ३८औं स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत खनालले उनलाई आफूहरुले नभुलेको बताए । रत्नको नाममा प्राविधिक शिक्षालयसमेत सञ्चालनको तयारीसमेत रहेको जानकारी दिए । आइतबार नै रत्नको सालिक अनावरण गर्न एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र महासचिव ईश्वर पोखरेल उनको जन्मथलो इलामको चमैता चित्रे पुगेको रत्न–बम स्मृति प्रतिष्ठानका अध्यक्ष डा. देवी क्षेत्री दुलालले जानकारी गराए ।
२००७ साल चैत २७ गते जन्मिएका रत्न २७ वर्षको उमेरमा उही मितिमा २०३५ सालमा इभाङमा प्रहरीको गोलीबाट मारिएका थिए । हत्याको झन्डै ३७ वर्षपछि उनलाई राज्यका तर्फबाट सहिदको सम्मान दिइएको छ । खनालले बरु बमप्रसाद बान्तवाको विषयमा यथोचित काम गर्न नसकेको स्वीकार गरे । बम पनि पञ्चायतविरुद्धको आन्दोलनका क्रममा इलाममै मारिएका थिए ।
“उहाँहरुलाई सम्झिँदा बलिदानलाई सम्झन्छौं, इतिहासलाई सम्झन्छौं”, उनले भने, “बलिदानका थलाहरु थुप्रै छन् । इतिहासलाई निखार्दै लैजानुपर्छ ।” उनले संविधान कार्यान्वयका लागि तीनै तहको निर्वाचन गर्न आवश्यक रहेको चर्चा गर्दै निर्वाचनमा एमालेले जित्न आवश्यक रहेको बताए । “एमालेले निर्वाचन जिते त्यसको दूरगामी प्रभाव रहन्छ”, उनले भने, “नजिते पनि दूरगामी असर त पर्छ नै ।” उनले कार्यकर्तालाई एमालेलाई जिताउन लागिपर्न दिर्नेशनसमेत दिएका थिए ।
मञ्चका उपाध्यक्ष तुलसी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य देवराज घिमिरेले रत्नको योगदानको चर्चा गर्दै बमप्रसाद बान्तवालगायतलाई सहिद घोषणा गराउनु पार्टीको दायित्व भएको धारणा व्यक्त गरे । अर्का एमाले केन्द्रीय सदस्य रामकुमारी झाक्रीले रत्न बलिदानीबारे आफूले दन्त्यकथाजस्तो सुनेको उल्लेख गर्दै उनीहरुले देखाएको बाटोमा हिँड्नुपर्ने बताइन् ।