काठमाडौं / आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

सोमबार ३ बजेसम्मका लागि बैठक स्थगित भएको विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए ।

सरकारले तयार गरेको संविधान संशोधनको नयाँ प्रस्तावमाथि दलहरुको सहमति जुटाउन बाँकी भएकाले बैठक सरेको हो ।

नयाँ संशोधन प्रस्तावमा विपक्षी दलको पनि सहमति जुटाउने तयारी भइरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । संसदमा पेश भएको संशोधन प्रस्तावमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले त्यसलाई फिर्ता लिएर नयाँ विधेयक दर्ता गर्ने तयारी गर्नुभएको हो । नयाँ विधेयकमा सीमांकनबाहेक सरकारी कामकाजको भाषा, मातृभाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयलाई संशोधन गर्ने उल्लेख छ ।

यसअघि बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाको वरियता विवाद र नेपाल प्रहरीको आईजीपीबारे निर्णय हुन नसक्दा मन्त्रिपरिषद् बैठक प्रभावित हुादै आएको छ ।